धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको कार्यसमितिमा सर्वसम्मत सदस्यहरु चयन गरिएको छ ।
कुल ८१ जना कार्यसमिति सदस्यहरु मध्ये ८० जना सर्वसम्मत चयन गरिएको हो । एक जना प्रतिनिधि नआएकाले पनि उम्मेदवारी दिएको र उनको उम्मेदवारी खारेज भएको कारण ८० जना मात्र सदस्यहरु सर्वसम्मत चयन भएको हो । माओवादी केन्द्रको मंसिर ११ गते नगर अधिवेशन उद्घाटन भएको थियो । उक्त दिन उम्मेदवारी मनोनयन दर्ता भइसके पछि विवादको कारण अर्को सुचना जारी नभएसम्मको लागि बन्दसत्र स्थगित गरिएको थियो ।
निर्वाचन समितिले आज (बिहिबार) बिहान ११ बजे मतदान हुने सुचना जारी गरेको थियो । तर, आयोजक कमिटीले सर्वसम्मत कार्यसमिति चयन गर्न सहमति नजिक पुगेको भन्दै आग्रह गरेपछि मतदान स्थगित गरिएको थियो । नेताहरुबीच छलफल पश्चात ८० सदस्यीय कार्यसमिति सदस्यहरु सर्वसम्मत चयन गरिएको अधिवेशन आयोजक कमिटीका अध्यक्ष सुर्दशन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार एक जनाको उम्मेदवारी खारेज भएको कारण पछि मनोनित गरिनेछ । यही मंसिर २५ र २६ गते हुने प्रदेश १ अधिवेशनको लागि पनि १४ जना प्रतिनिधिहरु चयन गरिएको उनले बताए । ‘मतदान भएन । सर्वसम्मत ८० जना सदस्यहरु छानियो, र १४ जना प्रदेश प्रतिनिधिहरु पनि चयन भएको छ,’उनले भने,‘पदाधिकारीहरु प्रदेश अधिवेशन पछि ८० जनामध्येबाट चयन हुनेछ ।’ कार्यसमिति सदस्यमा चयन भएका ८० जनाको शुक्रबार बिहान साढे ७ बजे पार्टी कार्यालयमा सपथ ग्रहण हुने पनि माओवादी केन्द्रले जनाएको छ ।