धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीका नवनिवार्चित सदस्यहरुको सपथ ग्रहण भएको छ ।

धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज (शुक्रबार) बिहान निवार्चित ८० जना नगर कमिटी सदस्यहरुको सपथ ग्रहण भएको हो । केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य किरण राईको प्रमुख आतिथ्यमा सपथप्रहण भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले फुटेर नभै जुटेर माओवादी आन्दोलन र पार्टीलाई धरानमा पहिलो बनाउने उद्घोष गरे । सबै एकजुट भए माओवादीको २०६४ सालको विरासत फर्काउन गाह्रो नभएको नेताहरुको भनाई थियो ।

प्रमुख अतिथि एवं नेता राईले क्रान्तिकारी पार्टीमा एकले अर्काेलाई देख्दा एलर्जी हुने र गुटबन्दी गर्ने स्थिति अन्त्य गर्नुपर्ने बताए । विभिन्न मनोविज्ञानहरुबीच बहस र छलफलमार्फत खारेर धरानको सर्वसम्मत सदस्यहरु चयन हुँदा उत्साह जगाएको उनले बताए । उनले अब पार्टीलाई गतिशिल बनाउन योजनाहरु ल्याउने, कार्यान्वयन सफलतापुर्वक गर्ने पदाधिकारी पनि सर्वसम्मत चयन गर्ने जिम्मेवारी रहेको बताए ।

नेता मुक्साहाङ मेन्याङ्बोले समस्या हुँदा पार्टी छोडिहाल्ने प्रवृत्ति त्यागेर लाल र निपुण कार्यकर्ता बन्न आग्रह गरे । उनले जनाधार भएको, इमान्दार नेता, कार्यकर्ता बन्न सुझाव दिदै एकले अर्कोलाई निषेध गरेर पार्टी नबन्ने बताए । उनले भने,‘एउटाले अर्कोलाई निषेध गरेर पार्टी बन्दैन, एकले अर्काको अस्तित्व स्वीकार गरेर पार्टी बन्छ, एकले अर्काेको परिपुरक बन्नुपर्छ । अनिमात्र माओवादी क्रान्तिकारी पार्टी बन्छ ।’

उनले धरानमा २०६४ सालको विरासत फर्काउन कुनै समस्या नभएको तर झिनामसिना कुरामा अल्मलिन नहुने बताए । कार्यसमितिमा चुनाव भएको भए नेता, कार्यकर्ता र जनता पनि विभाजित हुने भन्दै मेन्याङ्बोले खराब परिस्थिति आउन नदिन सहमतिको प्रक्रियाबाट अघि बढेको बताए । उनले भने, ‘नेता, कार्यकताृ र जनता पनि विभिाजित भएर चुनाव जितिदैन, क्रान्तिकारी पार्टी बन्दैन । सानो कुरामा चुनाव गरेर पार्टी विभाजित भयो भने खराब परिस्थित आउने थियो, त्यसैले सहमतिबाट प्रक्रियामा गएका हौ, सहमति गरेका हौ ।’ 

अर्का नेता अइन्द्रबिक्रम बेघाले पनि माओवादी आन्दोलनलाई फुटेर नभै जुटेर गर्नुपर्ने बताए । विपक्षी शक्तिहरु पनि फुटिरहेको भन्दै धरानको माओवादी आन्दोलन १ नम्बरको बन्ने बताए । ‘धरानमा माओवादीलाई पहिलो पार्टी बनाउन सक्छौ, सबै लाग्नुपर्छ । हामी ३५ सय सदस्य छौ, सबैले १, १ जना थप्दा पनि ६ हजार बढी हुनछौ र ६ हजारले ५ जनालाई मात्र कन्भिन्स गर्दा ३० हजार बढी हुन्छ,’उनले भने,‘ माओवादी आन्दोलन र झण्डालाई हामी अब ढल्न दिने छैनौ ।’