सुनसरी: नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उक्त पार्टीले दाबी गरेको छ ।
बिहिबार नेकपा एस सुनसरीको फेसबुकमा अध्यक्ष गोविन्द निरौलाले धर्मराज निरौला पार्टी प्रवेश गरेको र पोलिटब्युरो सदस्यको जिम्मेवारी पाएको पोष्ट गरेका छन् । यद्यपी, नेता निरौलाको औपचारिक प्रतिक्रिया आएको छैन । नेकपा एसले भने निरौला पार्टीमा आएको र पोलिटब्युरो सदस्यको जिम्मेवारी पाएको दाबी गरेका छन् । उनी ५ सय कार्यकर्तासहित एसमा प्रवेश गरेको उक्त पार्टीको दाबी छ ।
संविधान सभा सदस्यसमेत रहेका निरौला एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनमा केन्द्रीय सदस्यसमेत हुन नपाएपछि असन्तुष्ट थिए । विगतमा माधव नेपाल समुहका नेता निरौलाले एमाले महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी थिए, तर उनी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको सुचीमा परेका थिएनन् । चितवनबाट केन्द्रीय सदस्य र सुनसरी जिल्ला इञ्चार्जको पद गुमाएर फर्किएका निरौला नेकपा एसमा जाने चर्चा थियो ।