धरान: नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी र नेता जगदीश कुसियैतविरुद्ध दिएको विवादित अभिव्यक्तीबारे आत्माआलोचित हुँदै क्षमा मागेका छन् ।
बुधबार इनरुवाको होम साई पार्टी प्यालेसमा आयोजित संयुक्त बैठकको अध्यक्षता गरिरहेका नेता निरौलाले समापन मन्तव्यको क्रममा आफ्नो विवादित अभिव्यक्तिबारे माफी मागेका हुन् । उनले पाटी दुईटा कमिटी र विभाजनको स्थितिसम्म पुग्ने गरि रिसइबी लिएर हिडने क्रममा आफुले बोल्दा नेता कुसियैत र उपमेयर भण्डारीलाई चोट परेको र चित्त दुःखेको भन्दै दुवै जनासँग माफी मागेका हुन् । कार्तिक ९ गते जेठ २ कमिटी पक्षको धरान १५ स्थित होटल इजी राइडरमा आयोजित नगर अधिवेशन उद्घाटन समारोहमा निरौलाले उपमेयर भण्डारीबारे विवादित अभिव्यक्ति दिएका थिए । त्यसविरुद्ध अनेमसंघले निरौलालाई कारबाहीको माग गर्दै पार्टीमा निवेदनसमेत दिएको थियो ।
‘हामी हिजोसमम दुईटा कमिटीमा थियौ, यहाँसम्म कि घरिघरि पार्टी विभाजनको स्थितिसम्म पुग्ने गरि एउटा रिसइवीको हिसाबले अगाडि बढिरहेका थियौ,’उनले भने,‘त्यसक्रममा मैले नै लौकीमा बोल्दा खासगरि हाम्रा आदरणीय नेता जगदीश कमरेडलाई चोट परेको, चित्त दुःखेको लागेको छ । त्यसैगरि मैले धरानमा बोल्दा खेरि धरानका उपमेयर मञ्जु कमरेडलाई चोट परेको, चित्त दुःखेको कुरा कमरेडले गर्नुभएको छ । म ती दुईटै घटनामा कमरेडहरुसँग हार्दिकतापुर्वक क्षमा चाहन्छु, आत्माआलोचित हुन चाहन्छु ।’
नेता निरौलाले दुई वटा कमिटी हुदा गरेका वचनले परेको चोट, तिरा पिरा कुराहरु बिर्सेर एकतावद्ध हुन पनि आग्रह गरेका छन् । उनले विगतका गुट, वैचारिक समुहहरुलाई छोडेर भावनात्मकरुपले एकतावद्ध भएर पार्टीलाई अगाडि बढाउन पनि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘दुई वटा कमिटीमा थियौ, वचनले चोटहरु पर्न गएको हुनसक्छ, ती सबै तितापिरा कुराहरुलाई, चोट परेका कुराहरुलाई अब बिसौं, एकतावद्ध भएर एउटा भावनात्मक एकताको एकतावद्ध एमाले बनाएर अगाडि बढौ,’निरौलाले भने, ‘अब गुटलाई पनि छोडौ, वैचारिक समुहहरुलाई छोडौ, हामीबाट यो भन्दा अगाडि भएका सबै कमी, त्रुटीहरु जे जति छन्, त्यसमा सार्वजनिक हिसाबले क्षमा याचना माग्दै एकतावद्ध भएर एउटै पार्टीमा आवद्ध भएर अगाडि बढ्न आह्वान गर्दछु ।’
भिडियो: