धरान: नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ । 

जिल्ला निर्वाचन कमिटीले प्रकाशन गरेको पहिलो निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । जसमा मतदानको मिति तोकिएको छैन । संशोधित निर्वाचन कार्यक्रमलाई अध्यक्ष मण्डलले बन्दसत्रमा वाचन गरेर सुनाइसकेको छ । जस अनुसार मतदानको मिति पछि तोकिने उल्लेख छ । संशोधित कार्यतालिकाभन्दा अघि प्रकाशित निर्वाचत कार्यक्रममा भने पुष २७ गते बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने उल्लेख थियो ।

संशोधित निर्वाचन कार्यतालिका अनुसार आज शनिबार साँझ सवा ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण हुनेछ भने उम्मेदवारको फारम दर्ता भोली आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ । 

यस्तै, आइतबार दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्म उम्मेदवारहरुको विरोधमा उजुरी दिने, दिउँसो ४ बजेसम्म उजुरी उपर छानबिन र निर्णय, गर्ने र सवा ४ बजे उम्मेदवारहरुको नामावली पुनः प्रकाशन गर्ने कार्यतालिका छ । 

यस्तै, पुष २७ गते बिहान १० बजेदेखि साढे १२ बजेसम्म उम्मेदवारहरुको नाम फिर्ता गर्ने समय तोकिएको छ भने दिउँसो २ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । तर, मतदान गर्ने मिति भने पछि तोकिने संशोधित निर्वाचन कार्यक्रममा उल्लेख  छ।

अध्यक्षमा पोख्रेल र भण्डारीबीच सहमतिको प्रयास जारी 

एमाले जिल्ला अध्यक्षका प्रमुख दाबेदारकोरुपमा अधिवेशन आयोजक कमिटीका अध्यक्ष खेमराज पोख्रेल र पुर्वअध्यक्ष रेवतीरमण भण्डारी देखिएका छन् । दुवै संस्थापन पक्षकै नेता हुन् । 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको परिस्थितिमा पुर्वअध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा ओली पक्षले जिल्ला कमिटी घोषणा गरेको थियो । जेठ २ अघिको कमिटीको अध्यक्ष रमेश बस्नेत थिए । दुवै कमिटीबीचको विवाद समाधान गर्न खेमराज पोख्रेललाई अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाइएको थियो । अध्यक्षका आकांक्षी दुई मध्ये एकलाई सहमतिबाटै अध्यक्ष बनाउन नेताहरुबीच कसरत जारी छ । 

भीम आचार्य फ्याक्टर

एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको गृह जिल्ला हो, सुनसरी । अझ उनको घर हाल अधिवेशन भइरहेको इनरुवामै पर्छ । विगतमा माधव नेपाल खेमाका प्रभावशाली नेता रहेका आचार्य फ्याक्टरले पनि अध्यक्षका आकांक्षी रहेका पोखरेल र भण्डारीमा सहमति जुटाउन सकस भइरहेको छ । 

माधव नेपालले एमाले विभाजन गरेर अर्को पार्टी खोल्दा उनको साथ छोडेर तत्कालिन एमाले सचिव आचार्यलगायत नेताहरुले १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए । अहिले उनी एमालेभित्र मात्र होइन, गृहजिल्लामा नै कमजोर भएका छन् । त्यसैले जिल्लामा आफ्नो शक्ति संचय गर्न उनी जिल्ला अधिवेशनबाट आफु अनुकुल नेतृत्व ल्याउन खोजिरहेका छन् । 

अध्यक्षका आकांक्षी भण्डारी विगतमा नेता आचार्यको कटु आलोचक हुन् । त्यसैले आचार्य अध्यक्षमा उनलाई रोकेर इनरुवाकै पोख्रेललाई अध्यक्ष बनाउन चाहिरहेका छन् । यद्यपी, एमाले प्रचारप्रसार उपसमिति संयोजक रवि खनाल भने सहमतिबाट नै नेतृत्व चयन हुने बताउँछन् ।