धरान: प्रदेश १ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई जना गठबन्धनका उम्मेदवार निवार्चित भएका छन् भने एक जना नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

अन्य प्रदेशमा सत्ता गठबन्धनले क्लिन स्विप गरिरहदा प्रदेश १ मा भने एमालेबाट एक जना प्रदेशसभा सदस्यमा निवार्चित गराउन सफल भएको छ । मतभार सत्ता गठबन्धनको पक्षमा स्पष्ट देखिएपनि निर्वाचन परिणाम भने गठबन्धनलाई झस्काउने गरि आयो । यो निर्वाचन परिणामले सत्ता गठबन्धनमा धोका भएको टिकाटिप्पणी शुरु भएको छ । 

महिलामा नेकपा एसकी राई विजयी

प्रदेश १ बाट महिलातर्फकी उम्मेदवार जयन्ती राई विजयी भएकी हुन् । नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी नेतृ राईले ४ हजार ६५२ मत ल्याइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत पाइन् भने राप्रपाकी उम्मेद्वार रन्जु प्याकुरेले १२० मत प्राप्त गरिन् । तीन मत भने बदर भएको थियो । 

एमालेका शेर्पा निवार्चित 

सत्ता गठबन्धनका उम्मेदवारलाई हराउदै राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । उनी अल्पसंख्यक कोटाबाट विजयी भएका हुन् । 

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई उम्मेदवार थिए । एमोका शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे भने गठबन्धनका उम्मेदवार राईले ४ हजार ३६८ मत प्राप्त गरे । 

गोलामार्फत गठबन्धनका बस्नेत विजयी

अन्यतर्फको राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । उनी गोला प्रथाबाट निवार्चित भएका हुन् । एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको मत बराबर भएको थियो । बराबर मत ल्याएपछि गोला प्रथाबाट बस्नेत विजयी भएका हुन् । एमाले उम्मेदवार बराल र गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका बस्नेतले बराबर ४ हजार ४८८ मत पाएका थिए । 

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत पाएका थिए । एमालेका उम्मेदवार बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत पाएका थिए । राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत गरि १६८ मतभार पएका थिए ।