धरानः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रीपरिषद विस्तार गरेका छन् । 

विपक्षी दलको विरोध र आलोचनाका बीच गठबन्धनका दलहरुलाई भागवण्डा मिलाउन उनले मन्त्रालय फुटाएर १३ पुर्याएका छन् । आज ८ जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री राईले आफ्नो मन्त्रीपरिषद विस्तार तथा हेरफेर गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ ग्रहण गराएका छन् । 

नवनियुक्त मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट खानेपानी, सिचाई तथा उर्जामन्त्रीमा रामकुमार राई, कृषि मन्त्रीमा झलकबहादुर मगर नियुक्त भएका छन् भने कांग्रेसबाट वन, वातावरण तथा भु संरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग श्रम तथा रोजगार मन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा ओमप्रकाश सरावगी नियुक्त भएका छन् । सरावगी र हाङ्गामको मन्त्रालय सपथ ग्रहण गर्नुअघि मात्र फेरिएको हो । 

यसैगरि, एकीकृत समाजवादीबाट सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा सँस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बु, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरे नियुक्त भएका छन् । 

यसअघि, माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो नियुक्त भइसकेका थिए भने जनता समाजवादीबाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका जयराम यादवलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै, कांग्रेसका हिमाल कार्की सडक, पुर्वाधार तथा सहरी विकास मन्त्रीमा नियृुक्त भएका थिए भने आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की नियुक्त भएका थिए । साथै, सामाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे नियुक्त भएकी थिइन् । 

pradesh-mantri1