धरान: मन्त्रिपरिषद बैठकले सोमबार स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेलगत्तै स्थानीय तहमा उम्मेद्वारको खोजी शुरु भएको छ ।
स्थानीय तहहरुमा अबको मेयर पदको उम्मेदवार को होला ? भन्ने चासो र चर्चा शुरु भएको हो । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय हिजो गरेको थियो । त्यसलगत्तै सामाजिक सञ्जालमा अबको प्रमुख वा मेयर को होला भन्ने चर्चा शुरु भएको हो । कतिपयले नामसमेत प्रस्ताव गरेर फेसबुकमा पोष्ट गरेका छन् भने अधिकांशले जिज्ञासा व्यक्त गरेको देखिन्छ ।
राजनीतिक दलहरु पनि चुनावी तयारीमा सक्रियता बढेदै लगेका छन् । तर उम्मेदवार छनौट सहज नभएकोले दलहरु हतार गर्ने पक्षमा छैनन् । मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्न राजनीतिक दलहरुको लागि कठिन हुने गरेको छ । अझ सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय चुनावमा पनि गठबन्धन गर्ने कुराले पक्कै सकस पैदा गर्नेछ भने प्रमुख प्रतिपक्षी दलमा पनि उम्मेदवारको आकांक्षीहरु धेरै हुने भएकोले उम्मेदवार छनौट सहज हुदैन ।
राजनीतिक दलहरु उम्मेदवार छनौटमा हतार नदेखिए पनि धरानमा केही व्यक्तिहरुले उम्मेदवारको नाम सामाजिक सञ्जालमार्फत चर्चामा ल्याएका छन् । धरान १३ निवासी एमाले वडा कमिटी अध्यक्षसमेत रहेका घनश्याम तिम्सिनाले पुर्वमेयर एवं एमाले नेता मनोजकुमार मेन्याङ्बोको तस्बिरसहित पार्टीले नगरको नेतृत्वमा ल्याउन आवश्यकता कति ठान्छ भनेर जिज्ञासा राखेका छन् । अर्का विनोद तिम्सिनाले पनि एमालेको तर्फबाट धरानको नगर प्रमुखमा उम्मेदवार मञ्जु भण्डारी हुने पक्का भएको र उपप्रमुखमा नारायण सुवेदी या अरु कोही हुने उल्लेख गर्दै कांग्रेसले चुनाव जित्न कसलाई उम्मेदवार बनाउनु पर्छ ? भन्ने जिज्ञासा राखेका छन् ।
यस्तै, सुमन सुस्केराले विराटनगरको अबको मेयर को ? भनेर पोष्ट गरेका छन् भने सरोज खप्तडी बस्नेतले उर्लाबारीको मेयर अब को होला ? भन्ने जिज्ञासा पोष्ट गरेका छन् । यस्तै, रेवती निरौलाले लेटाङ नगरपालिकाको भावी मेयरमा तपाई कसलाई देख्न चाहनु हुन्छ ? भन्दै जिसारा राखेका छन् भने पाँचथरका भीम बास्कोटाले फिदिम नगरपालिकामा अबको मेयर को हुँदा उपयुक्त हुन्छ ? भन्ने जिज्ञासा राखेका छन् ।
हर्क साम्पाङ मेयरमा उठ्ने !
सरकारले बैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने निर्णय सार्वजनिक भएलगत्तै धरानका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयरमा उम्मेदवारी दिने भन्दै फेसबुकमा पोष्ट गरे । उनले सामाजिक सञ्जाल फेसबुकबाट नै आगामी स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिका प्रमुखमा उम्मेदवारी घोषण गरेका हुन् । उनले लेखेका छन्,‘२०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन रे, लु किन ढिलो गर्ने, धरायन उपमहानगरपालिका प्रमुखमा मेरो उम्मेदवारी घोषणा गर्दछुँ ।’
तर, उनले क्लिकधरानसँगको फोन सम्पर्कमा भने आममानिसको प्रतिक्रिया बुझ्न उक्त पोष्ट गरेको बताए । उनले उम्मेदवारी दिने भए पत्रकार सम्मेलन गरेर नै घोषणा गर्ने पनि बताए ।