धरान: राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका छन् ।

आज (शनिबार) एक शुभकामना सन्देश जारी गर्दै मेयर राईले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुलाई स्मरण गरेका छन् भने श्रद्धा पनि व्यक्त गरेका छन् । 

मेयर राईले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्दै प्रजातन्त्रको जगमा लोकतान्त्रिक पद्दतीलाई अझै सक्षम र सुदृढ गर्दै लैजाने सम्पूर्ण नेपालीको चाहना र आकांक्षा हासिल गर्न पनि थप प्रेरणा प्रदान गर्ने बताएका छन् ।

‘नेपाली जनताको लामो संघर्षको परिणाम स्वरुप वि. सं. २००७ फागुन ७ मा निरंकुश जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ७१ औं वर्ष पुरा भएको छ । ७२ औं प्रजातन्त्र दिवस २०७८ को यस अवसरमा सम्पूर्ण नगरबासी आमा–बुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्न पाउँदा म अत्यन्तै हर्षित छु’ शुभकामना सन्देशमा भनिएको छ । 

Democracy-day