धरान: जनता समाजवादी पार्टीले आगामी स्थानीय तह निर्वाचनको लागि धरानको मेयर र उपमेयरका उम्मेद्वारबारे छलफल गरेको छ ।
बैशाख ३० गते हुन लागेको निर्वाचनमा धरानको मेयर र उपमेयरको सम्भावित उम्मेदवारको नामबारे जसपाले शनिबार छलफल गरेको हो । पार्टी कार्यालयमा भएको छलफलमा मेयरको लागि केन्द्रिय सदस्य भिम राई, शशी बिक र नगर अध्यक्ष ताजुप लिम्बुको बिषयमा छलफल भएको थियो ।
उपमेयरमा विना पुमा राई, दुर्गामाया लिम्बू र ऐसा सुनुवारको नामबारे औपचारिकरुपमा छलफल भएको पार्टीले जनाएको छ । नगर अध्यक्ष ताजुब लिम्बुका अनुसार नगर कमिटीले स्थानीय तह निर्वाचन र उम्मेदवार केन्द्रीत गरेर केन्द्रीय समिति, वडा समितिका अध्यक्ष र सचिवसम्मलाई बोलाएर छलफल गरेको थियो ।
उक्त बैठकले संगठन सृदृढीकरण र टोल कमिटीसम्म फागुन महिनासम्म विस्तार गरिसक्ने निर्णय गरेको पनि अध्यक्ष लिम्बुले जानकारी दिए । केन्द्रीय सदस्यहरुको नेतृत्वमा वडाहरुलाई चलायमान बनाउने उनले बताए ।
यसैगरि, चुनावको लागि नारा र घोषणा पत्र तयारी गर्न अच्युत भट्टराई संयोजक रहेको ४ सदस्यीय समिति पनि गठन गरिएको अध्यक्ष लिम्बुले बताए । चुनावमा गठबन्धनको सम्भावना भए गठबन्धन गर्ने नत्र एक्लै चुनाव लड्ने गरि तयारी गर्ने रणनीति बनाएको पनि उनले बताए ।