संखुवासभा:प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।
सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रर्वद्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै उनले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन पनि आग्रह गरे । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उनको जोड थियो । ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुराउँछु भनेर लाग्नुपर्छ,’उनले भने
कारागार भित्र कैदीबन्दीले पालना गर्ने अनुशासनको प्रशंसा पनि गरे । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले १४ वटै जिल्लामा सचेतना कार्यक्रम गर्ने योजनाका साथ संखुवासभामा पनि कार्यक्रमको आयोजना गरेको बताए । कारागार, कैदी, बैतानिक वकिलको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै कारागारलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । बैतानिक कानून व्यवसायी भवानी आचार्यले थुनुवा सूचनाको हकबाट वञ्चित रहेको भन्दै कैदीबन्दीलाई आफ्ना मुद्दाका बारेमा स्पष्ट रूपमा सूचना पाउनुपर्ने बताए । ज्येष्ठ नागरिकले पाउनुपर्ने भत्ता पनि नपाइरहेको भन्दै सो भत्ता कैदीले पाउनुपर्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले थुनुवा र कैदीको भवन छुटाछुटै हुनुपर्ने भन्दै खुल्ला कारागारको अवधारणामा जान सकिने बताए । जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले कैदीबन्दीको समस्या समाधान गरिने बताए । सानै कक्षादेखि कानूनको कक्षा दिनुपर्ने, कानूनका संशोधित पुस्तक कारागारमा उपलब्ध हुनुपर्ने माग कैदीबन्दीले गरेका छन् ।