भोजपुर: भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्वर्गीय मानध्वज राई (फुइकी बाजे)को सालिक अनावरण गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बिच प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सालिकको अनावरण गरेका हुन् । मन्त्री कार्कीले राणा शासनका बेला पनि परिवर्तनको बिगुल फुक्ने स्वर्गीय राईको प्रतिमा बनाउनु र त्यसमा पनि आफैँले उद्घाटन गर्न पाउनु सौभाग्य भएको बताए । राणा कालमा पुर्खाहरूले रैतीको जीवनयापन गर्ने गरेको सहन नसकेर रैती हुनुभन्दा सहिद हुनुपर्छ भन्ने सोचका साथ बिपी कोइरालाहरूले सुरु गरेको अभियानमा स्वर्गीय राई लागेको उनले स्मरण गरे।
अन्यायका विरुद्धमा लड्नुपर्ने बताउँदै उनले ऐतिहासिक पात्रहरूको सालिकले केवल प्रतिमा मात्र नभएर ऐतिहासिक तथ्यको झझल्को दिने पनि मन्त्री कार्कीले बताए । स्वर्गीय राई जिल्लामा नयाँ नयाँ कृषि तथा फलफूलका बोटबिरुवा ल्याउने व्यक्तिका रूपमा पनि चिनिने भएकाले कृषि क्रान्तिका अभियन्ता पनि भनेर चिनिन्छन् । राईको निधन २०३० सालमा भएको थियो ।
सालिक सँगै निर्माण गरिएको जोडी जरायोको प्रतिमाको पनि मन्त्री राईले उद्घाटन गरेका थिए । जरायोटार प्रदेश एकको बिचको भूभाग रहेको उल्लेख गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले यसको विकासका लागि नवीन ढङ्गले अगाडि बढ्ने बताए । गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले आफ्नो पालिकाले जनतालाई घर घरमा सरकार आएको महशुस हुने गरी काम गरेको बताए । मन्त्री कार्कीले वडा नं ६ मै २० रोपनी जग्गामा निर्माणाधिन खेल मैदानको पनि अवलोकन गरेका थिए । मैदानको अवलोकन गर्दै उनले मैदान निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने पनि बताए ।