विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज आइतबार बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकका निर्णय बारे जानकारी दिदै मन्त्री घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए । प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।