धरान: आगामी बैशाख ३० गते हुने निर्वाचनमा प्रदेश नं १ मा ३३ लाख ४७ हजार बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार  प्रदेश नं १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन् । ती मध्ये पुरुष मतदाताको संख्या १६ लाख ९९ हजार ८ सय रहेको छ भने महिला मतदाताको संख्या १५ लाख ३३ हजार १५८ जना रहेका छन् । साथै, २३ जना अन्य छन् । आयोगका अनुसार प्रदेशभरि १ हजार ८ सय ७७ वटा मतदानस्थल रहनेछ भने मतदान केन्द्रको संख्या ४ हजार ५१ वटा हुनेछ ।

election-voter1

प्रदेश १ मा सबैभन्दा बढी मतदाता झापा जिल्लामा रहेको छ । झापामा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता छन् भने दोस्रो धेरै मतदाता रहेको जिल्ला मोरङ हो । मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता छन् भने सुनसरीमा ५ लाख ३४ हजार ७ सय ६५ जना छन् । 

सुनसरीमा कुन पालिकामा कति छन् मतदाता ?

सुनसरी जिल्लामा १२ स्थानीय तह छन् । ती मध्ये २ वटा धरान र इटहरी  उपमहानगरपालिका हुन् । सुनसरीमा यही दुई स्थानीय तहमा सबैभन्दा बढी मतदाता छन् ।

आयोगका अनुसार इटहरी उपमहानगरमा १ लाख ४ हजार ६ सय २६ जना मतदाता छन् । ती मध्ये ५४ हजार ७ सय महिला मतदाता हुन् भने ४९ हजार ९ सय २५ जना पुरुष मतदाता हुन् । यस्तै, १ जना मतदाता अन्य छन् । इटहरीमा २५ वटा मतदातस्थल हुनेछ भने १११ वटा मतदान केन्द्र हुनेछ ।

सुनसरीकै अर्को उपमहानगरपालिका धरानमा १ लाख ३ सय २४ जना मतदाता छन् । ती मध्ये ५२ हजार ९१६ जना महिला छन् भने ४७ हजार ४०८ जना पुरुष मतदाता छन् । धरानमा २८ वटा मतदातस्थल र १०७ वटा मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।

election-voter2

बराहक्षेत्र नगरपालिकामा ६३ हजार ६ सय ८ जना मतदाता छन् भने इनरुवा नगरपालिकामा ४२ हजार ७ सय ४८ मतदाता छन् । यस्तै,  रामधुनी नगरपालिकामा ४१ हजार ४ सय ७८ जना मतदाता पुगेका छन् भने दुहबी नगरपालिकामा ३६ हजार ७ सय ३० जना मतदाता छन् । यसैगरि, देवानगञ्ज गाउँपालिकामा २३ हजार ५ सय ७८ मतदाता छन् । गढी गाउँपालिकामा २३ हजार ८ सय १७ जना मतदाता छन् । कोशी गाउँपालिकामा २६ हजार ४ सय ६६ मतदाता छन् । 

बर्जु गाउँपालिकामा २२ हजार ४ सय ६७ मतदाता छन् भने भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार १ सय १ मतदाता छन् । हरिनगर गाउँपालिकामा २४ हजार ८ सय २२ जना मतदाता छन् ।  

स्रोत: निर्वाचन आयोगको कार्यालय