सुनसरी: इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिकसहित मदन वाटिका उद्घाटन गरिएको छ ।
इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्णकदको सालिक सहितको वाटिका एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । उनले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिक निर्माण गरेर उपमहानगरपालिकाले प्रसंशनीय कार्य गरेको बताए ।
प्रदेश सांसद लिलम वस्नेतले मदन वाटिका निर्माणसँगै यो क्षेत्रमा बाटोलगायत विकासका अन्य क्षेत्रमा ध्यान दिन जरुरी रहेको बताए । इटहरीका प्रमुख द्वारिकलाल चौधरीले देशका लागि महत्वपूर्ण योगदान पुर्याउने राजनेताहरुको सम्झनामा सालिक निर्माण गरिएको बताए । उपप्रमुख लक्ष्मी गौतमले विसनपुरको सो क्षेत्रलाई इटहरीकै दोश्रो तालतलैयाका रुपमा विकास गर्न सकिने बताइन् । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहु, पदम सञ्जेल, गोविन कुँवर लगायत पनि बोलेका थिए ।