धरानः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत फागुन १ गतेदेखि सञ्चालन गर्दै आएको पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियानको समापन भएको छ ।
बराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणको कार्यक्रम सकिएसँगै उक्त अभियानको समापन भएको हो । अभियान समापनको अवसरमा बराहक्षेत्र वडा नं. २ का रामकुमारी प्रसाई, गौरी खनाल र कुलप्रसाद मिश्रलाई पार्टीमा निःस्वार्थ अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो । सम्मानितहरुलाई जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति रमेश कार्की र वडा सभापति अमर कटवालले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।
सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिकाको वडा नं. १ देखि २०, बराहक्षेत्र नगरपालिकाको वडा नं. १ देखि ५ र रामधुनी नगरपालिकाको वडा नं. ७ मा अभियान सम्पन्न भएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण र एकता ल्याउन, संगठन विस्तारमा टेवा पुर्याउन, संगठनलाई मर्यादित, अनुशासित बनाउन तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउन सफल भएको दाबी गरे ।
अभियानको क्रममा अधिकांश वडाहरुमा प्रशिक्षणको विषय उठेको थियो । सोही अनुसार सुनसरी क्षेत्र नं. १ भरीका सबै वडाका सभापति र सचिवलाई चैत्र २० गते तथा सबै टोल समितिका सभापति र सचिवलाई चैत्र २२ गते प्रशिक्षण दिने कार्यक्रम राखिएको पनि क्षेत्रीय सभापति तामांगले जानकारी दिए ।
बराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका पार्टीका जिल्ला सभापति केदार भण्डारीले सशक्तिकरण अभियान सञ्चालन गरेर क्षेत्र नं. १ को क्षेत्रीय समितिले उत्कृष्ट र प्रशंसनीय कार्य गरेको बताए । उनले पार्टी अधिवेशनको सबै तिक्तताहरुलाई भुलेर स्थानीय तहको चुनावमा एकतावद्ध भएर होमिन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
महासमिति सदस्य जगत कार्कीले संगठनको सशक्तिकरण र सुदृढिकरण हुनु अत्यावश्यक रहेको बताउंदै क्षेत्रको अभियानले वास्तवमै फलदायी भएको बताए । महासमिति सदस्य ममता तामाङले पार्टीमा महिलाहरुको सहभागिता र अवसरलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताइन् । प्रदेशसभा सदस्यका प्रत्यासी एवम् नेता बुद्धि कटवालले क्षेत्रीय समितिले गरेको कार्यले पार्टीमा नयाँ आशा पलाएको बताए । महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेतले बराहक्षेत्रमा पार्टीको संगठन कमजोर नरहेको बताए । महाधिवेशन प्रतिनिधि एवम् बराहक्षेत्र २ का जिल्ला प्रतिनिधि रोहित सुब्बाले वडामा एकता कायम गराउन सबै लाग्नुपर्ने बताए । क्षेत्रीय सचिव केशव पुरीले कम्युनिष्टहरुको जनविरोधी चरित्रको भण्डाफोर गर्नुपर्ने बताए । क्षेत्रीय सहसचिव सुमित राईले वडाका नेतृत्वको कार्यक्षमता अभिवृद्धि गर्ने कार्यलाई अभियानले सार्थक बनाएको बताए ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति १(२) मा उपसभापति अनिल मगरले स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम पनि गरिनुपर्ने बताए । नगर सभापति रमेश कार्कीले क्षेत्रीय समितिको सशक्तिकरण र सुदृढिकरण अभियानले कार्यकर्ताहरुमा आत्मवल र मनोवल उच्च भएको बताए । पूर्व नगर सभापति नारायण नेपालले स्थानीय तहको निर्वाचनमा जसले टिकट पाएपनि जिताउन सबै लाग्नुपर्ने बताए । बुद्धिजीवी ओमकुमार शर्माले पार्टीमा सबैले भूमिका र स्थान पाउनुपर्ने बताए ।
वडा नं. २ का सभापति अमर कटवालले आफ्नो वडामा अभियान ल्याईदिएकोमा धन्यवाद दिंदै छिट्टै वडा भेला गराई उम्मेदवार छनौट तथा सिफारिसको कार्यलाई अगाडि बढाउने बताए । त्यसैगरी वडा नं. १ का सभापति ईश्वर थापाले वडामा धेरै कामहरु भईरहेकोमा क्षेत्रले अझ सान्दर्भिक अभियान सञ्चालन गरेवाट थप हौसला र उत्साह मिलेको बताए ।