धनकुटा: धनकुटाको चौंबिसे गाँउपालिकामा पत्रकार उत्पादन गर्न ३ दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम शुरु भएको हो ।
स्थानीय गतिविधि, विकास निर्माण तथा समृद्धिका समाचार सामाग्रीहरु आमसञ्चार माध्यममा उचित र पर्याप्त रुपमा प्रकाशन÷प्रसारणमा नआएपछि गाँउपालिका आफैले स्थानीयस्तरमा पत्रकार/सञ्चारकर्मी उत्पादन गर्न तालिम आयोजना भएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा जिल्ला शाखाको आयोजना र चौंबिसे गाँउपालिकाको सहयोग एवं व्यवस्थापनमा शुक्रबारदेखि ३ दिने पत्रकारिता तथा मल्टिमिडिया तालिम शुरु भएको हो । स्थानीयस्तरबाटै सक्षम पत्रकार उत्पादन गर्ने मुख्य लक्ष्य राखेर तालिम आयोजना भएको हो ।
गाउँपालिका अध्यक्ष खजिन्द्र राईले गाउँपालिकाले गरेका पुर्वाधार निर्माण, विकास तथा समृद्धिको बिषयमा आमसञ्चारमाध्यममा ठाउँ नपाएको र गाउँपालिकाको गतिविधि देखिन नसकेको बताए । “चौंबिसे गाँउपालिकाले जनताको असिमित आवश्यक्ता र चाहानालाई स्थानीय सरकारको असिमित श्रोत साधानले भौतिक पूर्वाधार, सडक तथा पुल निर्माण, गाउँपालिकाको भवन, न्यायिक भवन, विद्यालय तथा स्वास्थ्य चौकी भवन, शिक्षामा विकास गरेको छ”, तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले भने,“बाटोघाटो बनिएका छन्, घरसम्म बस गाडी पुग्नेभएको छ । खानेपानी घरघरमा छ, स्कूलमा कम्प्युटरदेखि सुविधाका लागि टिभी समेत छ । गाँउपालिकाको जीवनशैलीमा आमूल परिवर्तन र सुधार गरिएको छ तर पनि आमसञ्चारका माध्यमबाट यसको हुनुपर्ने जति आवश्यक रुपमा प्रकाशन प्रसारण र प्रचार नहुदाँ चौंबिसे गाँउपालिकाले गरेका विकास र सम्बृद्धिका विषय र आमचासोका अन्य गतिविधि देखाउन सकेनौं ।”
चौंबिसे गाँउपालिकामा स्थानीयस्तरमा नै रहेर पत्रकारिता गर्ने आमसञ्चारकर्मी नहुनु र गाँउपालिकाबाटै पनि कुनै पनि मिडिया व्यवसायीक रुपले संचालनमा आउन नसक्नुले पनि स्थानीय सरकारले गरेका प्रगत्ती विवरणहरु देखाउन नसकिएको अध्यक्ष राईले बताए । उनले सञ्चारको विकासको निम्ति गाँउपालिकाले पर्याप्त सहयोग गर्ने बताउदै सकारात्मक शैलीको पत्रकारिताको विकासमा ध्यान दिन प्रशिक्षार्थीहरुलाई आग्रह पनि गरे ।
कार्यक्रमका विशेष अतिथि एवं गाँउपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचालले चेतनशील शक्तिको उत्पादनका निम्ति पनि आमसञ्चारका क्षेत्रलाई गाँउपालिकाले सहयोग गर्ने बताइन् । उनले स्थानीय सरकारले गरेका राम्रा कामलाई राम्रा भन्न र नराम्रालाई आलोचनासहित सुधार गर्नका लागि सुक्षाब दिनुपर्ने कुरामा जोड दिइन् । “पत्रकारिता क्षेत्र शक्तिको रुपमा रुपान्तरण गरिनुपर्दछ”, उपाध्यक्ष रुचालले भनिन्,“राम्रा गरेका भए राम्रो र नराम्रा गरेका भए खबरदारी गर्ने जनताका असली प्रतिनिधि आमसञ्चारकर्मीहरुका धर्म र दायित्व हो ।”
चौबिसे नेपालको प्रदेश नम्बर १ को धनकुटा जिल्लामा अवस्थित चार गाउँपालिका मध्येको एउटा गाउँपालिका हो । तालिममा गाउँपालिकाको ६ नं. बुधबारे, मुढेबास, कुरुले तेनुपा, बोधे, राजरानी, मौनाबुधुक र बसन्तटारका जम्मा १६ प्रशिक्षार्थीहरु सहभागी छन् । उनीहरुलाई प्रमुख प्रशिक्षक नवीन गुरूङले मल्टिमिडिया र डिजिटल (अनलाइन) पत्रकारिता बारे आधारभूत ज्ञान र भिडियो क्यामराको प्रयोग र भिएसडिसी आधारभूत भिडियो सम्पादन प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक गुरूङ दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । फोनिज प्रदेश १ का अध्यक्ष समेत रहेका अर्का प्रशिक्षक सन्तवीर लामाले भने पत्रकारिता र पत्रकारिता आचारसंहिता बारे प्रशिक्षण दिइरहेका छन् ।
फोनिज धनकुटाका अध्यक्ष बिनु चेम्जोङको अध्यक्षतामा सम्पन्न उद्धघाट्न कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासक पर्शुराम दाहाल र नेपाल आदिवासी जनजाति महासंघ चौंबिसे गाँउ ईकाइ परिषर्दका उपाध्यक्ष उत्तम देवानले पनि मन्तव्य व्यक्त गरेका थिए । फोनिज उपाध्यक्ष मानवी मोक्तानले सचालन गरेको उद्घाटन कार्यक्रममा गाँऊपालिका लेखा प्रमुख सोबित तुम्बाको पनि उपस्थिति रहेको थियो ।