सुनसरी: सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (एस)ले गठबन्धनभित्र सहमति नभए सुनसरीको सबै स्थानीय तह र वडामा एकल उम्मेदवारी दिने जनाएको छ ।
एकीकृत समाजवादीले इनरुवामा शनिबार पत्रकार सम्मेलन गर्दे सुनसरीको १२ वटै पालिका र १ सय २४ वटा वडामा सत्ता गठबन्धनभित्र सहमति नभए एकल उम्मेद्वारी दिने तयारी गरेको जनाएको हो । सत्ता गठबन्धनमा रहेका दलहरुसँग सिट बाँडफाटमा कुरा नमिलेको पालिका तथा वडाहरुमा आफनो पार्टीले सबै दलसँग प्रतिष्पर्धा गर्न उम्मेदवारी दिने उक्त पार्टीको भनाई छ । नेकपा एसका सुनसरीका अध्यक्ष गोविन्द निरौलाले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला तहका नेतृत्वसँग शुक्रवार गरिएको बैठकमा गठबन्धन निमार्ण गरेर जाने छलफलको सुरुवात भएको बताए ।
अध्यक्ष निरौलाले नेकपा एसले जिल्लाका धरान र इटहरी उपमहानरपालिका, इनरुवा, रामधुनी, दुहवी, बराहक्षेत्र नगरपालिकामा मेयर उपमेयरसहित सवै वडामा उम्मेदवार उठाउने गरि नेता कार्यकर्ताहरुको नाम सिफारिस गर्न चैत २८ गतेसम्म जिल्लामा पठाउन निर्देशन दिएको बताए । यसैगरि देवानगञ्ज, बर्जु, हरिनगर, गढी, कोशी र भोक्राहा–नरसिह गाउपालिकामा चैत ३० गतेसम्म सहमति गरि उम्मेदवारहरुको नाम सिफारिस गरि पठाउन सर्कुलर गरिएको पनि अध्यक्ष निरौलाले बताए ।
सहमतिका आधारमा गठबन्धन हुने वडामा गठबन्धनबाट र नहुने वडामा एकल रुपमा चुनावमा उम्मेदवारी दिने गरि कार्यकर्ताहरुलाई सर्कुलर गरिएको उनले बताए । पालिका तथा वडाबाट हुने सहमतिलाई आधार बनाएर चुनावमा भाग लिने अध्यक्ष निरौलाको भनाई छ । जिल्लामा सहमति हुन नसकेका वडा तथा पालिकामा तल्लो तहबाट गठबन्धन बनेर आएको अवस्थामा त्यसैलाई सहमती दिने र सहमति नभएको अवस्थामा एकलरुपमा उम्मेदवारी दिने तयारीमा सवै पालिका कमिटीहरु रहेको अध्यक्ष निरौलाले बताए ।
नेकपा समाजवादीले सुनसरीको भोक्राहा–नरसिह, कोशी गाउपालिकामा काग्रेस बाहेकको गठबन्धन बनाउन पालिका तहमा बैठक छलफल भएकाले जिल्लाबाट सहमति भएको अवस्थामा जिल्लाबाटै गठबन्धन बनाएर चुनावमा भाग लिने तयारी गरेको छ । बराहक्षेत्रमा नेपाली काग्रेस, माओवादी केन्द्र र जसपासँग समहति भएका सिट बाडफाँडका आधारमा सहमति गरेर जाने र नभएको अवस्थामा गठबन्धनमा मिल्ने अन्य दलहरु बिचमा सहमती गर्ने, त्यो पनि नभए एकल रुपमा जाने तयारी भएको एसले जनाएको छ । रामधुनी नगरपालिकामा नेपाली काग्रेस, माओवादी केन्द्र र जसपाका पालिका तहका कमिटी सँग बैठक बसेर सिट बाँडफाडको सहमति गर्ने, सहमति नभएको अवस्थामा एकल रुपमा चुनावमा भाग लिने गरि उम्मेदवारी दिने तयारी गरिएको उक्त पार्टीले जनाएको छ ।