धरान: आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर धरानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनमा होमिएको हो ।
धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको हलमा शनिबार निर्वाचन परिचालन समिति घोषणा गर्दै माओवादी केन्द्र निर्वाचनमा होमिएको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य किरण राईको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको थियो । समितिका सदस्य सचिव फोक्वाहाङ सुब्बा चोत्लुङ रहेका छन् । सोही कार्यक्रममा विभिन्न उपसमितिहरु पनि घोषणा गरिएको माओवादी केन्द्रले जनाएको छ । निर्वाचन परिचालन समितिमा धरान उपमहानगर कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु, २० वटा वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु र जनवर्गीय संगठनको नगरस्तरिय कमिटिका पदाधिकारि रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक किरण राईले एमाले र कांग्रेसले धरानमा सत्ताको नेतृत्व गरिसकेको तर आम जनताका समस्याहरु ज्युँ का त्युँ रहेको बताए । धराने जनताले फेरि पनि एमाले र कांग्रेसलाई जिताउने प्रयत्न गरिरहेको भए आफ्नो घुँडामा आफैले बञ्चरो हान्ने अवस्था सृर्जना हुने भन्दै नेता राईले आगामी बैशाख ३० गतेको निर्वाचनमा ध्यान पुर्याउन आग्रह पनि गरे । धरानमा एमाले र कांग्रेसबाट विकास र समृद्धि सम्भव नभएको दाबी गर्दै उनले भने, 'धरानबासीहरुले अहिले चिच्याइरहेका छन्, खानेपानी खै ? योजना, परियोजना पाएको छ, तर कार्यान्वयन गर्न सक्दैनन् भने के को नेतृत्व ? उनीहरुसँग भिजन छैन, उद्देश्य छैन । संकल्प छैन, कर्तव्यबोध छैन । तर भोट र बहुमत प्राप्त गरेर रजाई गरेका छन् । त्यसैले रजाई गर्नेहरुलाई फेरि पनि सत्तामा पुर्याउने हो भने विकास, समृद्धि सम्भव छैन । '
उनले एमाले र कांग्रेसको राजनीतिक कार्यदिशा, राजनीतिक कार्यक्रम पनि प्रष्ट नभएको बताए । उनले बैशाख ३० गतेको निर्वाचनमा भोट कसलाई दिने ? के को लागि दिने ? भन्ने कुरामा विचार पुर्याउन आम मतदाताहरुलाई आग्रह पनि गरे । माओवादी केन्द्र धरानका अध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज)ले धरानको विकास र समृद्धिको लागि माओवादी केन्द्रले पार्टीले खाका तयार गरेको र कार्यान्वयन सम्भव रहेको बताए । उनले धरानको विकास र समृद्धिको लागि धराने जनताको विश्वास र विकल्पको रुपमा माओवादी पार्टी रहेको पनि जिकिर गर्दै आगामी निर्वाचनमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरे ।
निर्वाचन परिचालन समिति घोषणाको अवसरमा धरानका अग्रज तथा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमलाई किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष अशोक राई, प्रदेश सचिवालय सदस्य आइन्द्र विक्रम बेघा, अधिवेशन निर्वाचन समितिका प्रदेश १ प्रमुख राजेन्द्र किराती, प्रदेश सचिवालय सदस्य मुक्सामहाङ मेन्याङ्बो मुकेशलगायतले पनि सम्बोधन गरेका थिए ।