विराटनगर: प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको हो । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीना कार्की(विराटनगर, मोरङ) र सदस्य सचिव हंशराज वाग्ले(ज्यामिरे, ओखलढुंगा)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघि हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिएका छन् ।