धरान: पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले सुनसरीमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गर्दै अध्ययनको लागि कार्यदल गठन गरेको छ ।
आज (बुधबार) बसेको सत्तारुढ दलहरुको बैठकले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने उद्देश्यले वस्तुगत तथा यथार्थपरक अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सचिव वीरेन्द्र साह, नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो (मुकेश), नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव बसन्त सुवेदी, जनता समाजवादी पार्टीका जिल्ला सचिव प्रदिप कार्की र राष्ट्रिय जनमोर्चाका हरीलाल अधिकारी छन् । यो कार्यदललाई चैत २६ गतेसम्म स्थानीय पालिकाहरुको वस्तुगत अध्ययन गरि प्रतिवेदन पेश गर्न म्याण्डेड दिइएको छ ।
बैठक पछि जारी संयुक्त विज्ञप्तीमा कार्यदललाई सबै पालिकाहरुको वस्तुगत स्थिति र विगतको निर्वाचनको अवस्थालाई समेत आधार मानेर गठबन्धनलाई मुर्तरुप दिने उल्लेख गरिएको छ । कार्यदलले केन्द्रीय गठबन्धनको नीति निर्देशन पुर्णरुपमा कार्यन्वयन गर्ने गरि गठबन्धनलाई मुर्तरुप दिनुपर्नेछ । यस्तै, जिल्ला समन्वय समिति, पालिका र वडा तहसम्म नै गठबन्धन गर्ने र सम्भव भएसम्म सबै वडामा सबै पार्टीको प्रतिनिधित्व गराउने गरि कार्यदललाई काम गर्न जिम्मा दिइएको छ ।
यसैगरि, ५ दलिय गठबन्धन बाहेक दलसँग गठबन्धन नगर्ने र जिल्लाले संयुक्त प्रतिवद्धता पत्र प्रकाशन गरेर पालिका र वडा तहसम्मै संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गर्ने पनि गठबन्धन दलहरुले जारी विज्ञप्तीमा उल्लेख छ ।