ईलाम: १ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
ईलामको सूर्योदय नगरपालिका २ का शशी क्षेत्रीको घरमा आईतवार बेलुका आगलागी हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेलुका ७ बजेर ५० बजेको समयमा क्षेत्रीको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट क्षेत्रीको घरमा रहेको सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान काठपात, अन्नपात, लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी भएको खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी, संखुवासभाको पाचँखपन नगरपालिका ७ स्थित बाहुन गाउँका पदमनाथ कुईकेलको घरमा विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ७ लाख मुल्य बराबरको क्षति भएको हो ।आगलागीबाट कुईकेलको टिनको बेरा भएको ३ तले घर, घरभित्र रहेको नगद, चाँदी, लत्ताकपडा, अन्नपात लगायत घर भित्र रहेका सम्पूर्ण सामान र कुईकेलको भतिजा कमल कुईकेलको ग्वाली घरमा समेत आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागी भएको खबर इलाका प्रहरी कार्यालय वानामा प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।