धनकुटा: धनकुटा जिल्लाको छथर जोरपाटी ३ लामोगराका २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ ।
घटना गएको शनिवार बेलुका ७ बजेको भए पनि घाइते पवित्राको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य विवाद हुदा निर्मलाले एक्कासी दाउराको अगुल्टोले टाउको र मुखमा हिर्काएकी थिइन् ।
आफ्नै साथी निर्मलाको प्रहारबाट पवित्रा गम्भीर घाईते भइन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आज बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ । घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।