सुनसरी: प्रेमले जीवनमा बाँच्न सिकाउछ, सकरात्मक उर्जा दिन्छ, प्रेरणा दिन्छ । तर, त्यही प्रेमलाई सही तरिकाले बुझ्न नसक्दा परिणाम भयावह पनि आउछ ।
यस्तै एउटा दुःखद् घटना मंगलबार सुनसरीमा भएको छ । इटहरीका करिब ३० बर्षीय राजेश बानियाँ दिउँसो साढे ४ बजे पुलबाट कोशी नदीमा हाम्फालेर वेपत्ता भएका छन् । उनी सुनसरीको बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका थिए । उनी कोशीमा हाम्फाले लगत्तै मोटरबोटमा भएका यात्रुहरुले बाँस दिएर बचाउने प्रयास गरे पनि उनले समात्न नमानेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
उनले कोशीमा हाम्फाल्नु अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेका छन् । उनले १० बर्षदेखि सम्बन्धमा बसेकी प्रमिकाले अर्को केटासँग बिहे गर्न लागेकोले आफ्नो बाँच्ने दिन अन्तिम भएको फेसबुकमा लेखेका छन् । ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ, सबै खुसी तिमीले पाउनेछौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्नेछौ ।’
उनले कोशीमा हाम्फालेको ठाउँ नजिकमा को ३७ प ७ नम्बरको बुलेट मोटरसाइकल नि फेला परेको छ । यस्तै, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक, लाइसेन्स ट्रायल पास गरेको कागज पनि भेटिएको प्रहरीले जनाएको छ ।