धरान: पाँच महिनाको बच्चाको मृत्यु भएको घटनामा धरान १० स्थित विजयपुर हस्पिटलले आन्तरिक छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाए पछि मृतक परिवारजनसँग सहमति भएको छ ।
आज दिउँसो ४ घण्टा भन्दा बढी मृतकका अभिभावक पक्ष र हस्पिटाल प्रशासनबीच छलफल भएको थियो । छलफलमा हस्पिटलले रिपोर्ट सम्बन्धित डाक्टरलाई ढिला पुग्नुको कारणबारे आन्तरिक छानबिन गर्ने र दोषी देखिएकोलाई कारबाही गर्ने लिखित प्रतिवद्धता जनाए पछि सहमति भएको हो । हिजो मंगलबार दिउँसो रामधुनी नगरपालिका ७ की पाँच महिनाकी सायरा कार्कीलाई विजयपुरका डाक्टरले थप उपचारको लागि पिआइसियु आवश्यक भएकोले रिफर गरेका थिए । उनलाई विराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएपछि अभिभावकहरुले विजयपुरले ढिलो गरी रिफर गरेको भन्दै हस्पिटलको रिसेप्सन तोडफोड प्रयास गरेका थिए ।
सोही घटनाबारे आज बुधबार बिहान ११ बजेदेखि मृतकका अभिभावक पक्ष र हस्पिटल प्रशासनबीच छलफल भएको थियो । छानबिन गरेर दोषी देखिएकालाई कारबाही गर्ने प्रशासनको प्रतिवद्धता पछि मृतकको परिवारजनले सहमति जनाएको रामधुनी ७ का मुक्ति सञ्जेलले जानकारी दिए । मृतक पक्षले रिपोर्ट किन ढिलाई भएको भन्दै अस्पताल प्रशासनसँग जवाफ मागेको थियो । फेरि पनि यस्तो घटना दोहोरिन नदिन पनि अस्पताल प्रशासनलाई मृतक परिवारजनले सचेत गराएको थियो ।
हस्पिटलका निर्देशक प्रभाव खतिवडाले आन्तरिक छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने सहमति भएको बताए । उनले हस्पिटलले उपचारको क्रममा कुनै लापरवाही नगरेको दाबी गर्दै भने,‘बच्चालाई निमोनिया भएको थियो । इर्मेजेन्सीमा उपचार गरेपछि रिपोर्ट वार्डमा राखियो । एक्स रे रिपोर्ट आएपछि डाक्टरले हेर्दा मुटु सुन्निएको र प्वाल परेजस्तो पनि भएपछि पिआइसियु चाहिने भएर तत्काल रिफर गरेको हो । विराटनगर लैजादै गर्दा बाटोमा नै मृत्यु भएछ ।’