धरान: धरान ५ स्थित देउराली र ठिंगाबारी जोड्न निर्माणाधिन सडकमा आज दिउँसो ट्याक्टरले किचेर एक व्यक्तिको मृत्यु भएको छ ।

दिउँसो करिब ३ बजेरित ना ५ त ७८४३ नम्बरको ट्याक्टरले किचेर ४६ बर्षीय बुद्धराज लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिम्बु घाँस लिएर घर जादै गर्दा लिफ्ट मागेर ट्याक्टरमा चढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार ट्याक्टरको अगाडि सिटमा बसेका लिम्बु उकालो बाटोमा  ब्रेक लगाउँदा उछिट्टिएर ट्याक्टरबाट खसेका थिए । उनी ट्याक्टरबाट भुँइमा खसेपछि चक्काले किचेर मृत्यु भएको ओलीले बताए ।

tractor

अहिले ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार अवस्थामा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर वडा ५ निवासी साजन लिम्बुको भएको खुलेको छ । वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुका अनुसार ट्याक्टर ढुंगा बोकेर वडा कार्यालय तिर जादै गर्दा घटना भएको हो । बाटो निर्माणाधिन अवस्थामा भएकोले अफ्ठ्यारो र उकालो भएकोले मृतक ट्याक्टरबाट खसेको हुनसक्ने वडाअध्यक्ष लिम्बुले बताए । उनका अनुसार शव केहीबेर अघि मात्र उठाइएको छ ।