धरान: एक महिलालाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित एसएसपी सौरभ राणा सरकारी वकिलको आदेशमा रिहा भएका छन् ।

राणा आज शुक्रबार साँझ सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलप्रसाद निरौलाको आदेशमा हाजिरी जमानीमा छुटेका हुन् । उनलाई खोजी भएको वखत उपस्थित हुने सर्तमा छोड्न आदेश दिएको न्यायाधिवक्ता निरौलाले जानकारी दिए । हाजिरी जमानीमा छुटेका हुन्, खोजी भएको वखत उपस्थित हुनुपर्नेछ, निरौलाले भने । रिहा गर्न आदेश दिनुको कारणबारे प्रश्न गर्दा निरौलाले हालसम्म पनि बलात्कार गरेको प्रमाणहरु नजुटेको बताए । उनले भने,'बलात्कार भएको भन्ने प्रमाणहरु अहिलेसम्म जुटेकै छैन । राणा हाजिरी जमानीमा रिहा भएपनि म्याद थपको समय भने अझै बाँकी नै छ ।'

एक महिलाले एसएसपी राणाले इटहरीमा गएको साउनमा बलात्कार गरेको आरोप लगाउदै जाहेरी दर्ता गराएकी थिइन् । उनले २०६६ सालदेखि नै आफुमाथि राणाले दुःख दिएको पनि जाहेरीमा उल्लेख गरेकी छिन् । गम्भीर आरोप लागेपछि गृहमन्त्रालयले संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख राणालाई पदबाट निलम्बन गरेको थियो ।

पीडित भनिएकी महिला र राणाबीच लामो समयदेखि निकट सम्बन्ध भएको बताइन्छ । पछिल्लो समय एसएसपी राणा टाढिए पछि ती महिलाले आवेशमा आएर उजुरी दिएको बताइएको छ । मन्त्रालयले निलम्बन गरेपछि ती महिला र राणाबीच मोवाइलमा कुराकानी भएको र अदालतमा आफुले जाहेरी फिर्ताको निवेनद दिएको बताएकी थिइन् ।