काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

तारकेश्वर–९ को शुभकामना चोकस्थित केशव पाण्डेको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ का ४२ वर्षीय शंकर डंगोल, राजु गुरुङ, धादिङ सल्यानटारका पदम अधिकारी, गल्छी गाउँपालिकाका दिनेश कुँवर, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका ६० वर्षीय मोहन खड्का, शिवजी शिवाकोटी र सूर्यविनायक नगरपालिका–१० का ४६ वर्षीय देवेन्द्र केसी रहेका छन् ।

त्यसैगरी, मकवानपुर इन्द्रसरोवरका श्याम सुन्दर नगरकोटी, काठमाडौं नगरपालिका–३ का देवरत्न श्रेष्ठ, स्याङ्जा चापाकोटका विमल मगर, नागार्जुन–१ का रोशन ठकुरी, तारकेश्वर–६, काठमाडौंका रामशरण खत्री, नुवाकोट पञ्‍चकन्याका दिनेश पन्त, गोरखा धार्चेका बुद्धिबहादुर गुरुङ, आरुघाट–२ का अनुप गुरुङ र धादिङका इन्द्रराज बिडारी पनि पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जनाएको छ । कोठा भाडामा लिएर बस्दै आएका दिनेश पन्तले जुवा खेलाउने गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ गरेको उनीहरूबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।