धरान: अड्डा सार गर्दै धरान ल्याइएका नेत्र विक्रम चन्द(विप्लव) समुहका नेता एवं जनवादी गायक, संगीतकार माइला लामासहित ५ जना सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै आइतबार पुनः पक्राउ परेका छन् ।
पक्राउ गरेर उनीहरुलाई प्रहरीले विभिन्न जिल्लामा पुनः मुद्दा चलाउन पठाएको स्रोतको भनाई छ । जिल्ला न्यायाधिश ध्रुवकुमार उप्रेतीको इजलाशले हिजो आइतबार उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश पछि माइला लामा, धिरेन्द्रा उपाध्यय, नविन बिक, देवान किराती(दिपेश) र रमेश कार्की रिहा भएका थिए । तर, रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले पक्राउ पुर्जी विना नै पुनः गिरफ्तार गरेको थियो । प्रहरीले उनीहरुलाई हातहतियार तथा खरखजना मुद्दामा एक पछि अर्को जिल्ला पठाउने गरेको छ ।
आइतबार पुनः पक्राउ परेकय पाँच जनालाई कालिकोट, संखुवासभा, भोजपुरलगायत जिल्लामा पठाउने प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई गत बर्ष धरान ६, पानवारामा वरामद भएको अत्याधुनिक हतियारसँगको मुद्दामा जोडेर धरानमा ल्याइएको थियो । अदालतको आदेशमा रिहाई लगत्तै लामाले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रियताको मुद्दा उठाउदा वर्तमान सरकारले आफुहरुलाई देशद्रोहीको आरोप लगाएर षडयन्त्रपुर्वक पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको बताए ।
माइला लामाको संक्षिप्त प्रतिक्रिया:
पत्रकार बन्धुहरु, हाम्रा शुभेच्छुकहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरु । ओली सरकारले हामीलाई एक पछि अर्को झुटा मुद्दामा फसाउने र अनावश्यक दुःख दिने पुर्वाग्रही कदम चालेको थियो । त्यसलाई सुनसरी जिल्ला अदालतले खारेज गरिदिएको छ, र हामीलाई साधारण तारेखमा रिहा गरेको छ । यसको निम्ति हामी अदालत र त्यहाँ कार्यरत सम्पुर्ण न्यायाधिश र वकिल साथीहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं । हाम्रो रिहाईको लागि पहल गर्नुहुने शुभेच्छुक साथीहरु, मानवअधिकारवादी साथीहरु, बार एशोसिएशनका साथीहरु, पत्रकार साथीहरु र हाम्रो तर्फबाट बहस गर्नुहुने वकिल महानुभावहरुमा पनि हामी हाम्रो पार्टीको तर्फबाट न्यानो अभिवादन जाहेर गर्न चाहन्छौं ।
विडम्बनाको कुरा के छ भने सरकारले कानुनी राजको कुरा गरिरहेको छ । आफैले निर्माण गरेको संविधानका मान्यताहरुलाई लत्याई रहेको छ । अदालत उहाँहरु निर्दोष हुनुहुन्छ, उहाँहरुलाई घर पठाउ भनेरर भन्छ, सरकार षडयन्त्रपुर्णढंगले पुनः गिरफ्तार गर्ने र अनावश्यकढंगले आफ्ना नागरिकहरुलाई दुःख दिने एक प्रकारको तल्लोस्तरको कार्यमा लागेको छ । वास्तवमा यसको निम्ति नेपालका सबै मानवअधिकारवादीहरु, सबै प्रजातान्त्रिक मानिसहरु, सबै वामपन्थीहरु सबै सबैले यो कुरालाई गम्भीरतापुर्वक बुझ्नुपर्नेछ ।
हाम्रो आग्रह छ, हामीले हाम्रो निम्ति केही मागेको छैनौं, हाम्रो पार्टीलाई यो देऊ त्यो पनि भनेका छैनौं । हामीले भनेको हो, नेपालमाथि वैदेशिक हस्तक्षेप बढेको छ । यो हस्तक्षेपलाई नेपाल सरकारले रोक्नसक्नुपर्छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तालगायत लगभग ३७२ हेक्टर भन्दा बढी जमिन अहिले भारतले मिचेको छ । त्यहाँ आफ्नो सैनिक क्याम्प खडा गरेको छ । तीस बर्षदेखि नेपाली सत्ताको डाढुपन्यु सम्हाल्नेहरु लाचार हुनुहुन्छ, र विदेशीले नेपाली भुमी मिचेर नेपालको स्वाभिमानमाथी गरेको हस्तक्षेप पनि लाचार भएर हेर्नू परेको छ ।
नेपाललाई टुक्राएर भारतमा गाभ्छु भन्ने सिके राउतहरुलाई रातारात कार्पेट बिछ्याएर स्वागत गरिराख्नुभएको छ । हामीले सशक्तढंगले उठाएको कुरा यो हो कि नेपाल स्वाधिन हुनुपर्छ,नेपाल एउटा स्वतन्त्र मुलुक हो, र स्वाधिन, स्वतन्त्र मुलुकको हैसियतले नेपालले आफ्नो पहिचान खडा गर्नुपर्छ । तर, हामीले राष्ट्रियताको यो मुद्दा उठाउदा वर्तमान ओली सरकार हामीलाई देशद्रोहीको आरोप लगाउछ, यो बडो ताज्जुब लाग्दो कुरा र लज्जाको बिषय छ ।
हामीले जनताको जीवन अहिले पनि वेहाल देखेका छौं । सायद तपाईहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा हरेक दिन देख्नुहुन्छ, १८ सयदेखि २ हजार नेपाली युवाहहरु कामको खोजीमा विदेश जान्छन्, र हरेक दिन त्रिभुवन विमानस्थलमा करिब करिब एक दर्जन मानिसहरुको शव बाकसमा प्याक भएर आएको हुन्छ । हामीले भनेकये कुरा राष्ट्रिय अर्थतन्त्रलाई वलियो बनाउ, यही उद्योग धन्दा कलकारखाना खोलौ, यही नेपाली युवाहरुलाई रोजगारीको व्यवस्थापन गरौं । र विदेशमा दास झैं जोतिनु पर्ने स्थितिबाट नेपाललाई मुक्त गरौं, स्वतन्त्र र स्वावलम्बि अर्थतन्त्र निर्माण गरौं, र विदेशनु बाध्य भएको नेपाली युवाहरुलाई यही रोजगारी दिनुपर्छ भनेका हौं ।