काठमाडौँ: बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई निर्दोष भन्दै सफाई दिएको छ ।

जिल्ला न्यायधिश अम्बरराज पौडेलको इजलासले आज सोमबार सभामुख महरालाई सफाई दिएको हो । श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाई दिएको हो । महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकोले अदालतले महरा निर्दोष ठहर गरेको हो ।

संघीय संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई उनको डेरामा पुगेर बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा दर्ता भएको थियो । उनले सभामुखबाट राजिनामा दिनुपरेको थियो । यसअघि अदालतले महरालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । उनी कार्तिक १८ गतेदेखि थुनामा थिए । अब भने महरा थुनामुक्त हुनेछन् ।