काठमाण्डौं: तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप मात्र लागेन, उनले पदबाट राजिनामा दिनुपर्यो भने १०३ दिन जेलमा बस्नु पर्यो ।

यसअघि, पुर्पक्षको लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौंले नै महरालाई सोमबार निर्दोष ठहर गर्दै रिहा गर्ने फैसला सुनायो । अदालतको यो फैसला पछि महरा जेलबाट बाहिरिसकेका छन् । कानुनीरुपमा महरा प्रकरण निरुपण भएपनि अझै केही प्रश्नहरु आम मानिसमा अनुत्तरित नै छ । पीडित भनिएकी महिला रोशनीले महरालाई फसाकएकी हुन् ? वा महरामाथि अन्य षडयन्त्र भएको हो ?

आज अदालतको आदेशपछि महरा छुटेपछि पीडित महिलाले मिडियालाई प्रतिक्रिया दिदै अदालतको फैसाल न्यायोचित र स्वागत योग्य भएको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले महरामाथि आफुले नभै राजनीतिक षडयन्त्र भएको पनि दाबी गरेकी छिन् । उनले आफुले महराविरुद्ध जाहेरी नदिएको जिकिर गर्दै आरोप पनि आफुले अस्वस्थताको कारण भएको बताएकी छिन् । ‘मेरो कारणले हुदै होइन, त्यहाँ अरु नै कारण छन्,’उनले अनलाइनखबरसँग भनेकी छिन्,‘राजनीतिक षडयन्त्र हो ।’

पीडित भनिएकी शाहीले मिडिया र सामाजिक सञ्जालमा बोल्दा आफु मानसिक सन्तुलन गुमाएको अवस्थामा बोलेको पनि प्रष्टीकरण दिएकी छिन् । उनले त्यो कुरा नबुझी हावामा दौडने, केही अजेण्डा नभएपछि महिला र बलात्कार शब्दलाई अजेण्डा बनाएर राजनीतिक गर्न खोजिएको पनि बताएकी छिन् । महरासँगको सम्बन्धको बिषयमा उनले भनेकी छिन्,‘उहाँ हाम्रो अभिभावक हो । पहिलादेखि नै हाम्रो गुरु हुनुहुन्छ । सौहार्दपुर्वक त्यो सम्बन्ध सधैभरि रहीरहन्छ ।’