धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने पनि बताएका छन् ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले ती संगठनहरुमा राजनीतिक हस्तक्षेप नगर्न पनि सबैलाई आग्रह गरे । ‘विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण हुदैन, तबसम्म राजनीतिक आन्दोलन गरेर प्राप्त भएको अधिकारको अर्थ हुदैन,’देउवाले भने ।

देउवाले जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकार कुनै पनि वहानामा खोस्न नपाइने पनि बताए । उनले २००७, २०४६ साल, २०६२/०६३ मा जनताले लडेर ल्याएको अधिकारहरु कुनै पनि वहानामा हटाउन नसकिने बताए । ‘जनताले लडेर ल्याएको अधिकारहरु कुनै वहानामा हटाउन, मास्न पाइदैन,’देउवाले भने,‘सबै पार्टीले प्रजातन्त्रको मुल मर्मलाई आत्मसात गर्नुपर्छ । सर्वभौम जनता हो, शक्तिको स्रोत जनता हो ।’ देउवाले जनताको बोल्न, लेख्न पाउने, आलोचना गर्न पाउने अधिकार सुरक्षित हुनुपर्ने पनि बताए ।

'धरान पर्यटकीय राजधानी हुन्छ'

democracy

सभापति देउवाले धरान पुर्वकै पर्यटकीय राजधानी हुने पनि बताए । धरानमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको चर्चा गर्दै उनले पर्यटनको विकासबाट नै धरानको आर्थिक समृद्धि हुने पनि बताए । ‘धरानले पर्यटनबाट आफुलाई विकास गर्न सक्छ । यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना छ,’देउवाले भने,‘धरान पुर्वको पर्यटकीय राजधानी पनि बन्नसक्छ ।’

सबै मिले मात्र देश बन्छः प्रदेश सांसद बराइली

प्रदेश सांसद उमिता बराइलीले सबै राजनीतिक दल मिले मात्र देशको विकास हुने बताइन् । उनले सुशासन, संविधान कार्यान्वयनको लागि पनि सत्ता र प्रतिपक्ष दलबी पनि सहकार्य, एकता आवश्यक भएको धारणा राखिन् । ‘सबै मिले मात्र देश बन्छ, सहिदको सपना पुरा हुन्छ,’उनले भनिन्,‘सुशासन र संविधान कार्यान्वयनको लागि एकजुट हुन आवश्यक छ । सत्तापक्षबाट मात्र संविधान कार्यान्वयन सम्भव छैन ।’