धरान: नेकपामा स्थायी कमिटि सदस्य एवं प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यले धरानका स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको श्रद्धाञ्जली सभा कार्यक्रममा आफुले व्यक्त गरेको कुरालाई गलतरुपमा प्रचार तथा वक्तव्यबाजी गरेकोमा आपत्ति प्रकट गरेका छन् ।

उनले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै आफुले राजनीतिक सहकर्मी स्वर्गीय राईको बारेमा नराम्रो टिकाटिप्पणी नगरेको भएपनि नकरात्मक अर्थमा बुझेर विज्ञप्तीबाजी भएको र अनलाइनहरुमा एकपक्षीय समाचारहरु पनि आएको भन्दै खण्डनसमेत गरे । स्वर्गीय मेयर राईलाई उनको परिवार पछि नजिकबाट चिन्ने व्यक्ति आफु भएको दाबी गर्दै नेता आचार्यले भने अनावश्यक विज्ञप्तीबाजी र झुटो प्रचार गर्नेहरुले नै ध्यानबहादुर राईको अपमान गरेको बताए । ‘उहाँ जुनै पार्टीमा गएपनि मसँग लामो राजनीतिक सहकार्य गरेको मेरो नजिकको सहकर्मी हुनुहुन्थ्यो, त्यसैले त्यसदिन विराटनगरमा अर्को कार्यक्रमलाई छोडेर भएपनि उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न आएको थिएँ,’नेता आचार्यले भने,‘हामी लामो समय राजनीतिक सहकर्मी भएर हिडेको मान्छे, उहाँको परिवारपछि नजिकबाट बुझ्ने व्यक्त मै हुँ । मैले बोलेको कुरालाई नकरात्मकरुपमा बुझ्ने र विज्ञप्तीबाजी गर्ने कामले ध्यानबहादुर राईकै अपमान र मानमर्दन गर्ने काम भएको ठानेको छुँ । म यस्तो झुटो प्रचारलाई खारेज गर्छु, र दुःख पनि व्यक्त गर्छुँ ।’

नेता आचार्यले स्वर्गीय पुर्वमेयर राईप्रति आफुले असंवेदनशील, अमर्यादित र अपमान हुने कुनै पनि शब्द प्रयोग नगरेको बताए । सकरात्मक आसयबाट अभिव्यक्त गरेको कुरालाई गलतरुपमा बुझेर अनावश्यक प्रचार भएको उनले बताए । ‘उहाँ ३६ साल, ४६ साल, ६२/६३ को जनआन्दोलनमा लडेको व्यक्ति हो, परिवर्तन र संघर्ष गरेर आएको मान्छे हो । मसँग लामो समय सहकार्य गर्ने घनिष्ट व्यक्तिलाई सार्वजनिक कार्यक्रममा अपमान कसरी गरौला ?’उनले भने ।

bhim-acharya1

नेता आचार्यले फिरेन्ते क्रान्तिकारी भनेको बिषयमा प्रष्टीकरण दिदै क्युबाली क्रान्तिका नायक च्वे ग्वेभाराकै उदाहरण दिएर तुलना गरेको तर गलतढंगले बुझेर प्रचार गरेको बताए । ‘च्वे एउटा मात्र देशमा सिमित रहेनन्, एक ठाउँबाट अर्को ठाउँमा जाने । उहाँकै उदाहरण दिएर ध्यानबहादुर पनि बिहानै उठेर जनताका घरदैलोमा डुल्दै पुग्ने, दुःख सुखको कुरा गर्दै हिड्ने फिरन्ते क्रान्तिकारी जस्तो भनेको थिएँ । तर, त्यसलाई गलत बुझेछन्,’आचार्यले भने,‘दले भन्यो भनेर पनि कुरा उठेछ, तर मैले युरोप र अमेरिकाको उदाहरण दिदै त्यता घरजग्गा व्यावसाय सम्मानित छ, नेपालमा नै सामान्ती समाज भएकोले हेयको दृष्टिले हेरिन्छ, दले भनिन्छ । उहाँ त्यो व्यवसायमा हुनुहुन्थ्यो भन्ने प्रसंगमा बोलेको हुँ । त्यसलाई पनि अनर्थ लाग्ने गरि प्रचार गरिएछ ।’

नेकपाले फागुन ३ गते शनिबार स्वर्गीय राई र स्वर्गीय देवलक्ष्मी प्रधानको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका नेता आचार्यले राईलाई अपमान हुने गरी बोलेको भन्दै पुर्वमेयर स्वर्गीय ध्यानबहादुर राई स्मृति ग्रन्थ प्रकाशन एवं सालिक स्थापना अभियानका संयोजक महेश श्रेष्ठले विज्ञप्ती जारी गरेपछि आचार्य विवादमा तानिएका थिए । श्रेष्ठकै विज्ञप्तीमा आधारित भएर समाजवादी पार्टीले पनि विज्ञप्ती जारी गरेको थियो । स्वर्गीय पुर्वमेयर राई पछिल्लो समय समाजवादी पार्टीको केन्द्रीय सदस्य थिए ।