धरान: निरंकुश पञ्चायती व्यवस्थाले निर्मम हत्या गरेका खोकु–छिन्ताङ–आँखिसल्लाका सहिद परिवारले चार दशकपछि राज्यबाट सम्मान तथा आर्थिक सहायता पाएका छन् ।
संघीय संरचना अन्र्तगत प्रदेश सरकार गठन भएपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले राज्यबाट सम्मान र सहायता पाएका हुन् । हिजो बुधबार ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सहिदभुमी गाउँपालिकामा पुगेर सहिद परिवारलाई आर्थिक सहायता वितरण गरेका हुन् । प्रदेश सरकारले वडा नं १, ३ र ७ का १६ जना सहिद परिवारलाई प्रतिव्यक्ति ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराएको हो । मन्त्रीपरिषदको निर्णय अनुसार सहिद पार्कमा कार्यक्रम आयोजना गरि सहायता वितरण गरिएको हो ।
पञ्चायती सरकारले खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा चरम दमन गरेको थियो । त्यसक्षेत्रलाई खाल्सा क्षेत्र पनि भनिन्छ । त्यसक्षेत्रमा कम्युनिष्ट गतविधि बढेपछि तत्कालिन पञ्चायती व्यवस्थाले गोली हानेर, कसैलाई भीरबाट खसालेर र कसैलाई नदीमा बगाएर हत्या गरेको थियो । छिन्ताङ हत्याकाण्डका मृतकहरुलाई सरकारले झण्डै ४ दशकसम्म पनि सहिद घोषणा गरेको थिए । नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार पटक पटक बने पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पौष २८ गते उनीहरुलाई सहिद घोषणा गरेको थियो ।
को को हुन् छिन्ताङका सहिद ?
तत्कालिन सरकारले तीन दिन खाल्सा क्षेत्रमा चरम दमन र आतंक मच्चाएको थियो । २०३६ कार्तिक २७, २८ र २९ गते हत्या काण्ड मच्चाएको थियो । त्यस हत्याकाण्डमा पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राई सहिद भएका थिए । यस्तै, भैरबबहादुर खालिङ राई, बलबहादुर खत्री, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, श्रीमाया राई (हाङखिमा साईली), झगेन्द्र राई पनि सहिद भएका थिए ।