धरान: आफ्नो बारेमा प्रश्न उठेकोले नैतिकताको आधारमा आफुले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजिनामा दिएको गोकुल बास्कोटाले बताएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा भर्खरै यस्तो स्टाटस पोष्ट गरेका हुन् । बास्कोटाले लेखेका छन्,‘मेरो बारेमा प्रश्न उठेकोले सम्मानीय प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउदछुँ ।’ बास्कोटाले पदबाट राजिनामा दिएको यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले बास्कोटाको राजिनामा नआएसम्मलाई राष्ट्रियसभा अवरुद्ध पार्ने जनाएको थियो भने प्रतिनिधिसभामा पनि अवरोध गर्ने तयारी गरेको थियो । राष्ट्रियसभा बैठक कांग्रेसले अवरोध गरेको थियो भने केही अघि प्रतिनिधिसभाको बैठक प्रारम्भ भएलगत्तै सभामुख अग्नी सापकोटाले मन्त्रीपदबाट बास्कोटाले राजिनामा दिएको जानकारी दिएका थिए । सेक्युरिटी प्रेस खरीदमा स्वीस कम्पनीका प्रतिनिधिसँग ७० करोड कमिसनको डिल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजिनामा दिन बाध्य भएका हुन् ।