इटहरी: तीर्थयात्रामा गएका १० जनाको भारतमा भएको सडक दुर्घटनामा ज्यान गएपछि इटहरी शोकाकुल बनेको छ ।
दुर्घटनामा परी इटहरीको वडा १० का मात्रै ६ जना तीर्थयात्रीको ज्यान गएको छ । दुर्घटनामा कुल १० जनाको ज्यान गएको थियो । ज्यान गुमाउने १० मध्ये अरु इटहरी ११, १२ र दुहबीका छन् । तीर्थयात्राहरु सवार बस शुक्रबार बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारको क्रममा ज्यान गएको थियो । दुर्घटनामा परी घाइते भएका १४ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको वताइएको छ ।
स्थानीय प्रहरीका अनुसार सुनसरीवाट तीर्थयात्रामा गएको टोली कन्याकुमारीमा दर्शन गरेपछि बैंगलोर गइरहेको थियो । उनीहरु सवार बस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलमस्थित एउटा मन्दिरमा विश्राम गर्न सडकमा मोडिन खोज्दा अर्को बसमा जुधेको थियो । तीर्थयात्रीहरु गत माघ २३ गते ३५ दिनको यात्रामा नेपालबाट भारत निस्किएका थिए । तीर्थयात्रामा खनार, इटहरी र दमकका यात्रुहरु रहेको वुझिएको छ ।
उपमेयर गौतम मृतकको घरमा पुगेर समवेदना व्यक्त
भारतमा सडक दुर्घटनामा परेर ज्यान गुएका मृतकको घरमा पुगेर इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले परिवारजनमा समवेदना ब्यक्त गरेकी छिन् । इटहरी वडा नम्वर १३ का वडाध्यक्ष शिव नारायण चौधरीको साथमा शनिबार उपमेयर गौतम मृतकको घरमा पुगेकी थिइन् । उपमेयर गौतमले सिङ्गगो इटहरीनै शोकमा रहेको जनाउदै धैर्यधारण गर्न परिवारजनलाई आग्रह गरिन् ।
शोकाकुल परिवारजनले आफन्तहरुको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन् । उपमेयर गौतमले उपमहानगरको तर्फवाट परराष्ट मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिइन् । भारतस्थित नेपाली दुतावासबाट एक जना प्रतिनिधि घटनास्थलतर्फ गइसकेको जानकारी परराष्ट मन्त्रालयले दिएको पनि उपमेयर गौतमले बताइन् ।