धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको सोमबार अन्त्येष्टी गरिएको छ ।
उनको आज(सोमबार) धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको हो । पलिखेको हिजो आइतबार राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको शव आज राजधानीबाट धरान ल्याएर अन्त्येष्टी गरिएको हो । पलिखे करिब डेढ महिनादेखि राजधानीमा उपचाररत थिए । उनलाई मृगौला र पेटको अल्सर समस्या देखिएको थियो । पछि, प्रेसर बढेर टाउकोमा रगत जमेपछि ४ दिनअघि अप्रेशन गरिएको थियो ।
मृतक पलिखे २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उपमेयरमा विजयी भएका थिए । तर, पछि मेयर र पार्टीसँग मतभेद बढेपछि उनले उपमेयरबाट राजिनामा दिएका थिए । पछिल्लो समय उनी जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउने गरेका थिए । उपमहानगरपालिकाको विकृति, भ्रष्टचारविरुद्धमा जनअभियानको नेतृत्व नै गरेका थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व गरेका थिए ।
यसैबीच, धरान उपमहानगरपालिकाले मंगलबार एक दिन शोक विदा दिने निर्णय गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सुचना जारी गर्दै पुर्वउपमेयरको निधनले उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको उल्लेख गर्दै नगर प्रमुखस्तरीय निर्णयबाट एक दिन मंगलबार विदा दिने निर्णय भएको जानकारी दिइएको छ । मंगलबार उपमहानगरपालिका कार्यालय साथै मातहतको कार्यालय, सामुदायिक तथा संस्थाक विद्यालयहरु, क्याम्पस तथा कलेज सबैमा विदा हुने सुचनामा उल्लेख छ ।