भोजपुर: भोजपुरको हतुवागढी गाउँपालिका ६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ ।
मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजी गर्ने क्रममा आज मृत भेटिएका हुन् । प्रहरीका अनुसार खोजी गर्ने क्रममा स्थानीयवासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङ्गामा च्यापिएको अवस्थामा मृत फेला पारेको थियो । घटनाबारे खबर आएलगत्तै ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए । आवश्यक कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यसैगरि, तेह्रथुमको फेदाप गाउँपालिका २ का ५७ बर्षीय टेक लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनि मृत फेला परेका छन् । मंगलवार बिहान ७ बजे कुलो बनाउन गएका उनी घर फर्केर नआएपछि खोजी गर्ने क्रममा आज बिहान मृत भेटिएका हुन् । उनी कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।