धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पछि मृत्यु भएको घटनाबारे मृतक पक्ष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीबीच अहिले वार्ता चलिरहेको छ ।

अस्पताल प्रशासन र सम्बन्धित गाइनो विभागका चिकित्सकहरुसँग भएको वार्तामा सहमति जुट्न नसकेपछि प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालसँगै मृतक पक्षले छलफल गरिरहेका छन् । उपकुलपति कार्यालयको सभाहलमा भएको वार्तामा पनि अहिलेसम्म सहमति जुटन सकेको छैन । छलफलमा कार्यवाहक उपकुलपति डा.खनाल र अस्पताल सहायक निर्देशक डा.विकास साह सहभागी छन् ।

पीडित पक्षले लापरवाही भएको दाबी गर्दै उपचारमा संलग्न डाक्टरहरुलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् । साथै उनीहरुले क्षतिपूर्ति पनि पाउनुपर्ने माग राखेका छन् । प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.खनालले भने छानबिन नगरी आफुले कसैलाई पनि कारबाही गर्न नसक्ने भन्दै छानबिन समिति गठन गर्ने प्रस्ताव गरेका छन् । मृतक पक्षले भने छानबिन विश्वस्त नहुने भएकोले तत्काल कारबाही र क्षतिपूति हुनुपर्ने अडान राखेका छन् । यही बिषयले सहमति जुट्न सकेको छैन ।

 इटहरी ४ हलगडाकी २५ बर्षीय लक्ष्मी बुढाथोकीलाई मंगलबार नर्मल डेलिभरी गराउन प्रतिष्ठान ल्याइएको थियो । उनलाई हिजो बुधबार दिउँसो ३ बजे लेबर रुममा लगिएको थियो । आमा र बच्चा सबै सामान्य अवस्थामा रहेको तर राती करिब ८ बजेतिर एक्कासी डाक्टरहरुले बच्चाको मृत्यु भएको बताएको मृतकका परिवारजनले बताएका छन् । आमालाई बचाउन आग्रह गरेपछि डाक्टरहरुले आमाको ज्यान बच्ने बताए पनि राती करिब २ बजेतिर आमाको पनि मृत्यु भएको थियो ।

bpkihs-delevary-death bpkihs-pregent-women