बिराटनगर: मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान, श्रीमति पनि छन् ।

जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज राती पौने १ बजे बिराटनगरबाट एक दम्पत्तिलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ का २६ बर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्यापनामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको जनाएको छ । यस्तै, ३ थान सिरिन्ज समेत बरामद गरेको प्रहरीको भनाई छ ।

यस्तै, बिहिवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले को १४ प ८६७९ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्ने क्रममा दुई जना पक्राउ गरेको थियो । पक्राउ पर्नेमा मोटरसाइकल चालक सुन्दरहरैचा ११ का ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाईकलको पछाडी सवार ईटहरी उपमहानगरपालिका ५ का २६ बर्षीय मनिष परियारलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट, डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवायल २ थान, लेनोभो मोवायल १ थान र नोकिया मोवायल १ समेत बरामद गरेको छ ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । बिहिवार साँझ ५ बजे कमल गाउँपालिका ५ का २३ बर्षीय मनिष धिमालको साथबाट डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।