मोरङः मोरङ जिल्लाका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो पौने ३ बजेको समयमा मोरङको उर्लावारी नगरपालिका ८ मा रहेको जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २१ बर्षीय अर्जुन नेपालीको मृत्यु भएको हो । माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा गोदावरी अस्पताल उर्लावारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय उर्लावारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, मोरङकै सुनबर्षी नगरपालिका ७ बरडंगाका ३५ बर्षीय सन्तोष मुखियाको पनि करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजे आफ्नै घरमा रहेको पानी तान्ने मोटरबाट पानी तानेर नुहाउने क्रममा अचानक उनलाई करेन्ट लागेको थियो । घाईते भएका मुखियाको उपचारको क्रममा टाईम्स अस्पतालमा अपरान्ह साँढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेटाङमा लडेर एकको मृत्यु

मोरङको लेटाङ नगरपालिका ५ का ७४ बर्षीय मनि प्रसाद राईको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा उनी लडेर घाईते भएका थिए । उनको उद्दार गरी घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।