काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाको सिन्जा गाउँपालिका–२ का २१ वर्षीय रतन तिरुवा भएको खुलेको छ ।

अमिन कोर्ष पुरा गरेका उनी जागिर नपाए पछि सिन्जा गाउँपालिकाबाट केही महिना अघि मात्र काठमाण्डौं आएका थिए । उनी काठमाडौंको डल्लुमा डेरा गरेर बसेका छन् । उनको परिवार पुर्वमाओवादी समर्थित भए पनि उनी भने राजनीतिमा प्रत्यक्ष संलग्न नभएको पाइएको छ । आज दिउँसो राष्ट्रिय सभागृह काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रचण्डलाई जुत्ता प्रहार गरेपछि उनी प्रहरी हिरासतमा छन् ।

उनले प्रचण्डको भाषणबाट चित्त नबुझेर रिसको आवेशमा आएर जुत्ता प्रहार गरेको प्रहरीमा वयान दिएको विभिन्न सञ्चारमाध्यमले जनाएको छ । ‘प्रचण्डसँग मेरो कुनै दुश्मनी होइन तर, आजको त्यो कार्यक्रममा उनले गरेको भाषण सुन्दा एक्कासी आक्रोशित भएँ,’प्रहरी स्रोतको भनाई उल्लेख गर्दै अनलाइनहरुमा प्रकाशित समाचारमा भनिएको छ,‘वर्ग संघर्षका विषयमा उनले गरेको विश्लेषणले मलाई रिष उठ्यो । रिष उठेका बेला जुत्ता हान्न पुगेछु ।’

तिरुवाले पूरै परिवार तत्कालीन माओवादी समर्थित भएको बताएका छन् । तर, आफू भने पछिल्लो समय कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नभएको उनले बयानमा बताएका छन् । उनका बुवा मून तिरुवा पनि तत्कालीन जनयुद्धको क्रममा माओवादी पार्टीमै लाग्दा राज्यपक्षबाट मारिएको प्रहरीसमक्ष उनले बताएको समाचारहरुमा उल्लेख छ ।