धरान: ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर धरानमा वतृत्वकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

महिला सञ्जाल धरानको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । ‘नेपालमा महिलाको अवस्था र राज्यको व्यावस्था’को विषयमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा धरानका १० वटा सामुदायिक विद्यालयका कक्षा १२ सम्मका १० जना छात्राहरुले भाग लिएको सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् । प्रतियोगिताको विजेता घोषणा आउदो ८ मार्च अर्थात फागुन २५ गते भानुचोकमा आयोजना हुने श्रमिक महिला दिवसको समारोहमा गरिने उनले बताइन् ।

प्रतियोगिताको निर्णायकहरुमा धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञा निरौला, धरानको महेन्द्र क्याम्पसकी सह–प्राध्यापक अस्मिता विष्ट रहेका थिए । प्रतियोगिताको विजेता प्रथम, दोस्रो, तेस्रो र चौथोले क्रमसः नगद ५ हजार, ३ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुबेदीले किशोरीहरुको शिक्षामा राज्यले पनि ध्यान दिनुपर्ने धारणा राखिन् ।

किशोरीहरुमा बोल्न सक्ने क्षमताको विकास गराउदै उनीहरुको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सञ्जालकी अध्यक्ष राईले बताइन् । ‘किशोरीहरुले पढाई मात्र हैन सामाजिक, राजनीतिक पनि बुझ्नु जरुरी छ बोल्ने कलाको विकास होस् र उनीहरुको प्रतिभालाई बाहिर ल्याउनको लागि प्लेट फर्म दिएको हो,’उनले भनिन् । सञ्जालकी सदस्य शकुन्तला भुषाल संयोजक रहेको कार्यक्रममा वडा नं १३ की महिला सदस्य पद्मा राई, धरान १८ की वडा सदस्य जमुना त्रिखत्री, सञ्जालकी निवर्तमान अध्यक्ष शिला बज्रचार्यले पनि मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव कोपिला भटराईले गरेकी थिइन् ।

march-8, 1

कार्यक्रम समापन पछि सामुहिक तस्बिर खिचाउदै आयोजक, अतिथि तथा निर्णायकहरु । फोटो/भिडियो: सुनिता केसी