सुनसरी: सुनसरी बराहक्षेत्र ७ देवीघाटका एक युवा र एक बालिकाको शव कोशी किनारमा भेटिएको छ ।
देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव भेटिएको हो । दुवैले लव अफेयरमा परिवारबाट अड्चन आएपछि कोशी नदीमा हाम्फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो घरबाट हराएका दुवैको शव आज बराहक्षेत्र ८ को ठाकुरबारीस्थित कोशी किनारमा भेटिएको हो । 'हिजो घरबाट हिडेका रहेछन्, घाँस काट्नेले केटीको शव र चप्पल देखेपछि प्रहरीलाई खबर गरे,'जिल्ला प्रहरी प्रवक्ता एवं डिएपी विनोद शर्माले भने,'प्रहरीले थप खोजी गर्दा केटाको पनि शव भेट्यो ।'
डिएसपी शर्माका अनुसार जोडीको शवसँगै २ वटा मोवाइल र दुई जोर चप्पल पनि भेटिएको छ । दुवै जनाबीच प्रेम सम्बन्ध भएको र परिवारबाट समस्या भएपछि कोशीमा हाम्फाल्ने निर्णय गरेको हुनसक्ने उनले बताए । 'घटनाबारे अनुसन्धान भइरहेको छ, दुवै अफेयरमा थिएछन्, समस्या भएर हाम्फालेको हुनसक्छ,'डिएसपी शर्माले भने । दुवैको शव भेटिएको स्थानमा कोशीको भंगालो फाटेर पानी जमेको दह जस्तो भएको पनि डिएसपी शर्माले बताए । शुरुमा मौषमको शव भेटिएको र दुईटा मोवाइल, २ जोर चप्पल भेटिए पछि थप खोजी गर्दा पारसको पनि शव फेला परेको उनले बताए ।