धरान: विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत एक विद्यार्थी धनकुटाको मुलघाटास्थित तमोर नदीमा वेपत्ता भएका छन् ।

नोबेलमा अध्ययनरत भारतको विहार राज्यको पुर्णिया घर भएका २५ बर्षीय दिनिप शर्मा आज शनिबार मध्यान्ह तमोरमा बेपत्ता भएका हुन् । मध्यान्ह पौने १२ बजेतिर फोटो खिच्ने क्रममा शर्मा अचानक ढुङ्गामा चिप्लेर नदीमा खसेर बेपत्ता बनेको धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिए । प्रहरी निरीक्षक शर्माका अनुसार उनी नोबेलमा चौथो वर्षको एमबिबिएसको पढाई सकेर इन्टर्न गरिरहेका थिए ।

‘नोबेल मडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनी साथीहरुसंग टुरमा आएका रहेछन् । नदीमा फोटो खिच्ने ढुङ्गामा चिप्लेर नदिमा डुबेर बेपत्ता बनेका छन्,’ शर्माले मोवाइल सम्पर्कमा भने,‘उनको खोजी कार्य तिब्र पारिएको छ, अहिलेसम्म फेला पार्न सकेका छैनौं ।’ समुहमा घुम्न आएका उनीहरु गएराती मुलघाटमा नै बास बसेका थिए । तीन जना केटी साथीसँग नदीमा फाटो खिच्न गएका थिए । उनको खोजी कार्यमा सशस्त्र प्रहरी बल (एपिएफ)को टोली पनि खटिरहेको छ ।

tamor-river1