धरान: धरानको वडा नं ६ पानवारीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्त पक्राउ परेका छन् ।
स्थानीय १५ बर्षीय वालिकालाई स्कुटर सिकाईदिने वहानामाा जंगलमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरिएको हो । प्रहरी चौकी पानवारीले उजुरी परेपछि आरोपितलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरान पठाइसकेको छ । घटना केही दिनअघिको हो । पीडित वालिकाको अभिभावक पहाड गएकोले उनीहरु फर्किएपछि मात्र यो घटना सार्वजनिक भएको हो ।
इलाका प्रहरी कार्यालय धरानले भने प्रारम्भिक अनुसन्धानको क्रममा रहेकोले तत्काल घटनाबारे जानकारी दिएको छैन । यद्यपी, प्रहरी निरीक्षक हेमराज ओलीले एक व्यक्ति पक्राउ गरेर इलाका ल्याउने क्रममा भएको बताए । ‘बलात्कारको घटनाबारे कुरा आएको छ, अनुसन्धान भइरहेकोले अहिल्यै केही नभनौं,’उनले भने,‘मान्छे आइपुगेकै छैन, पछि विस्तृत जानकारी दिइहाल्छौं ।’
पानवारी प्रहरी चौकीले भने उजुरी परेको र एक व्यक्ति पक्राउ गरेको पुष्टि गरे । घटना ५, ६ दिन अघिको भएको पीडितका अभिभावकको भनाई छ । स्कुटर सिकाइदिने भन्दै वालिकालाई दक्षिण जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकबाट उजुरी परेपछि पक्राउ गरेर इलाका पठाइएको पानवारी प्रहरी चौकीका इञ्चार्ज तथा सई भेषराज राउतले जानकारी दिए । ‘अभिभावक पहाड गएको बेला स्कुटर सिकाईदिने भनेर जंगलमा बलात्कार भएको भन्ने छ, हामीले मान्छे समातेर इलाका पठाइदिएका छौं,’उनले भने ।