बिराटनगर: सुनसरी र मोरङका २ स्थानमा हिजो आईतवार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
आईतवार साँझ सवा ५ बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले ठक्कर दिदा सुनसरीको ईनरुवामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार इनरुवा नगरपालिका ६ घोपाली टोलमा ट्यांकरले पैदल यात्री ४८ बर्षीय मोनीमाया गिरीलाई ठक्कर दिएको थियो । घाइते भएकी गिरीको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बेलुका सवा ७ बजे मृत्यु भएको प्रहरीको भनाई छ । ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, मोरङको बेलवारी नगरपालिका ९ मा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। आईतवार राती साढे ८ बजे बेलवारी ९ नलवारी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल आफै दुर्घटनामा परेर एकको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलबारी १० का २८ बर्षीय तेजबहादुर धिमाल रहेका छन् । उनले मे ८ प ५२२८ नम्बरको मोटरसाईकल चलाइरहदा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । घाइते भएका उनलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगिए पनि उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।