धरान: हिजो मंगलबार धरानमा भएको छुरा काण्डका एक घाइते धरान ४ का अनन्त राईको स्वास्थ्यमा अझै सुधार भएको छैन । उनको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डि आइसियुमा राखेर उपचार भइरहेको छ ।
प्रतिष्ठानस्थित प्रहरी विटका अनुसार घाइते राईलाई राती नै आइसियुमा लगिएको थियो । प्रतिष्ठानको आइसियु अन्र्तगत डिआइसियु बेड छ । उनलाई त्यही भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरी विटले जनाएको छ । ‘अवस्था चिन्ताजनक भएर नै डिआइसियुमा लगिएको हो, भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’प्रहरी विटका एक प्रहरीले भने ।
हिजो मंगलबार दिउँसो करिब साढे ४ बजे धरान १२ स्थित पब्लिक स्कुलको दक्षिणी गेटमा अनन्त र धरान १५ का पेम्बा लामामाथि छुरा प्रहार भएको थियो । उनीहरुलाई धरान १ सिंहदेवीका प्रकाश तामाङले छुरा प्रहार गरेका थिए । अनन्तलाई बाँया कोखामा छुरा लागेको थियो भने पेम्बाको देब्रे हातको औला काटिएको थियो भने टाउको पछाडि पनि छुराले चोट लागेको थियो । घाइते अनन्तको अवस्था गम्भीर छ । घटना पछि फरार भएका तामाङलाई प्रहरीले राती नै पक्राउ गरिसकेको छ ।
पेम्बाको पाँच टाँका सिलाई, अभिभावकद्धारा जाहेरी दिने तयारी
छुरा प्रहारबाट घाइते भएका पेम्बाको टाउको पछाडिको चोट लागेको ठाउँमा पाँच टाका सिलाई भएको छ । उनको वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा आज बिहान सिलाई भएको अभिभावक निमा पोङ्सुवाले जानकारी दिए । ‘आज बिहान पाँच टाका सिलाई पर्यो,’उनले भने ।
घाइते पेम्बाको स्वास्थ्य अवस्था खतरामुक्त छ । उनको अहिले पनि आकस्मिक कक्षमा उपचार भइरहेको छ । अभिभावक निमाका अनुसार उनलाई चिकित्सकले डिस्चार्ज दिनेअपेक्षा छ । डिस्चार्ज भएपछि घटनाबारे प्रहरीमा जाहेरी दिने उनले बताए । ‘डिस्चार्ज दिने कुरा हुदैछ, त्यसपछि प्रहरीमा जाहेरी दिन्छौं,’उनले भने ।