विराटनगरः विराटनगर महानगरपालिकाले शहरी सौन्दर्य बढाउन पोलका तारलाई व्यवस्थित गर्न शुरु गरेको छ।
नगरभित्र निर्माण सम्पन्न भएका भित्रि तथा मुख्य सडक किनारामा रहेका पोलका तारलाई जिआइ पाइप भित्र राखि सौन्दर्यकरण गर्ने काम शुरु गरेको हो । पहिलो चरण अन्तर्गत रोडशेष चौकदेखि पुुष्पलाल चौकसम्मको सडकको दायाँ बायाँ रहेका तारहरु व्यवस्थित गरिने महानगरले जनाएको छ । काठमाण्डौ महानगरपालिका भित्र नेपाल विद्युुत प्राधिकरणले भुमिगत तार व्यवस्थापनका लागि काम थालेसँगै विराटनगरले पनि पहिलो चरण अन्तर्गतको काम शुरु गरेको बताएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले अहिले नै विद्यूतीय तारलाई भुमिगत गर्न ठुलो रकम खर्च हुने देखिएको हुँदा पहिलो चरण अन्तर्गत पोलको तारलाई मात्र व्यवस्थित गरिएको हो । एक छुुट्टै विशेष प्राविधिकको टोली परिचालन गरि काम थालिएको छ । अहिले पुुष्पलाल चौकसम्मको कम सकेर भित्र बाटोमा रहेका पोलहरुलाई व्यवस्थित बनाउन टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सुचित गरिएको छ ।
‘हामीले विराटनगर बजारको सौन्दर्य बढाउन र थप विग्रन नदिन यो कामको शुरुवात गरेका छौँ,’प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने,‘अब नगर भित्रका अधिकांश सडक दायँबायाँका पोलहरुमा तारको लठारो झण्डिएको देखिने छैन ।’ नगरले आइएसडी, टेलिकम, इन्टरनेट र निजि केवल सेदा प्रदायकलाई अनावश्यक तारहरु हटाउन सुचना जारी गरेको छ । अत्यावश्यक बाहेक पोलमा तार राख्न नपाइने नियम बनाएको छ भने विजुलीका पोलमा अनावश्यक विज्ञापन गर्नसमेत महानगरले रोक लगाएको छ । नगरले यो कमलाई निरन्रता दिने बताएको छ ।