धरानः होलीको दिन मंगलबार दिउँसो पब्लिक हाई स्कुलको दक्षिणी गेटमा २ जना घाइते हुने गरी भएको घटनामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेपछि इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त इलेक्स भन्ने वडा नं २ का १९ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीसहितको समुहले पूर्व रिसइवी साध्ने उद्देश्यले धरान ४ का १८ बर्षीय अनन्त राई र धरान १५ का १९ बर्षीय पेम्बा तामाङलाई खुकुरी प्रहार गरेको डिएसपी ढुण्डीराज न्यौपानेले बताए । घाइते पेम्बाको अवस्था सामान्य छ भने अनन्तको अवस्था चिन्ताजनक छ । उनको डिआइसियुमा उपचार भइरहेको छ ।
यस्तै, पक्राउ पर्ने अन्यमा वडा २ का १९ को वरदान चौधरी, धरान ३ का २० बर्षीय लाप्साङ तामाङ र धरान १२ का २० बर्षीय रोहन भन्ने रोमन श्रेष्ठ पनि रहेका छन् । घटनामा प्रकाश मुक्त अभियुक्त हुन् भने वरदान, लाप्साङ र रोमन मतियारकोरुपमा रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भै रहेको पनि डिएसपी न्यौपानेले जानकारी दिए ।